• १६ चैत २०८०, शुक्रबार

धानबाली जोगाउन सकस

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), साउन २३ गते । घोडाघोडी र आसपासका किसानलाई छाडा चौपायाबाट खेती जोगाउन निकै मुस्किल परेको छ । चार वर्षदेखि स्थानीय किसानले लगाएको खेती निर्धक्क भएर भिœयाउन पाएका छैनन् ।  

घोडाघोडी नगरपालिका–१ का स्थानीय दीपक ढकालले चार कट्ठा जग्गामा घेराबेरा गरी लगाएको धानबाली छाडा गाईको बथानले सखाप पारेको बताउनुभयो । ३० हजार रुपियाँ खर्चेर लगाएको तारबार नै छिनालेर गाईले धानबाली खाइदिएको ढकालले बताउनुभयो । उहाँले स्थानीय तहले छाडा गाई व्यवस्थापनमा ध्यान नदिएको बताउनुभयो ।

घोडाघोडी–३, निम्दिका खगेन्द्र बोगटीले दूध दिन छाडेपछि सडकमा ल्याएर गाई छाड्ने गरिएको बताउनुभयो । वर्षाको बेला यस्ता गाई धेरै छाडिने गरेको र कतिपयलाई गाई फिर्ता लैजान आपूmले बाध्य पारेको बोगटीले बताउनुभयो । उहाँका अनुसार धानखेती लगाएपछि घाँसको अभाव हुने र रोजगारीका लागि भारत जानेले गाई सडकमा छोड्ने गरेका छन् । 

छाडा छोडेका गाई ब्याउने भएपछि फेरि कतिपयले घरमा लैजाने गरेको समेत स्थानीय मनरुपा बडुवालले बताउनुभयो । कैलालीमा पाँच वर्षयता छाडा गाईको सङ्ख्या बढ्दै गएको छ । कतिपय स्थानीय तहले छाडा गाई व्यवस्थापनका लागि भनेर बजेट नै छुट्याएर व्यवस्थापन गर्न खोजे पनि नियन्त्रण हुन सकेको छैन । घोडाघोडी नगरपालिकाले २०७५ सालमा छाडा गाई व्यवस्थापनका लागि तीस लाख रकम छुट्याएर व्यवस्थापन गर्ने प्रयास गरेको थियो । छाडा गाई व्यवस्थापन समितिका सदस्यसमेत रहेका वडा नं. ४ का निवर्तमान अध्यक्ष टेकबहादुर बुढाले कान्जीहाउस बनाएर व्यवस्थापन गर्न खोजिएको तर छाडा गाईको सङ्ख्या बढ्दै गएपछि नियन्त्रण गर्न नसकेको बताउनुभयो ।

छाडा चौपायाका कारण सडक दुर्घटनासमेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार वैशाखदेखि साउन दोस्रो सातासम्म छाडा चौपायाकै कारण दुर्घटनामा परी दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन् । दुर्घटनामा १२ पशुचौपायासमेत मरेका छन् । १५ घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले छाडा चौपाया व्यवस्थापन गर्ने काम सम्बन्धित स्थानीय तहको भएको बताउनुभयो ।