• ७ जेठ २०८१, सोमबार

आगामी निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा

blog

ललितपुर, साउन २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्रको सुन्दर उपहार निर्वाचन भएको बताउनुभएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको स्वागत गर्दै उहाँले निर्वाचनले राजनीतिक दललाई शक्ति प्रदर्शन गर्ने मौका प्रदान गर्ने बताउनुभयो। 

हरेक दलले निर्वाचनबाट आफ्नो शक्ति देखाउनसक्ने भएकाले त्यसको तयारीमा जुट्न एमालेका नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो। पार्टी निकट भूतपूर्व सैनिक सङ्घको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचन मुख्य रूपमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने बताउनुभयो। हेर्दा गठबन्धनजस्तो देखिए पनि त्यसको नेतृत्व गरेको नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने उहाँले दाबी गर्नुभयो। 

उहाँले आगामी निर्वाचनमा एमालेले धेरै मिहिनेत गर्नुपर्ने बताउँदै यसबाट राम्रो प्रतिफल प्राप्त हुने धारणा व्यक्त गर्नुभयो। उहाँले थोरै मिहिनेतले मात्रै पनि एमालेले बहुमत ल्याउनसक्ने अवस्था रहेकाले विचार मिल्ने समूहलाई एमालेको मूलधारमा समाहित हुन अनुरोध गर्नुभयो। 

एमाले अध्यक्ष ओलीले सङ्गठित, योजनाबद्ध रूपमा विचार मिल्ने शक्तिसँग मिलेर निर्वाचनमा जान आफूहरू तयार रहेको बताउँदै भन्नुभयो, “वामपन्थी आन्दोलनमा सक्रिय रहनुभएका दललाई एमालेको बृहत् राजनीतिक यात्रामा सँगै मिलेर जान अनुरोध गर्छु। आगामी निर्वाचनमा त्यस्ता शक्तिसँग सहकार्य गर्न एमाले तयार छ।”  

उहाँले सत्तारूढ गठबन्धन नेपाली कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भएको चर्चा गर्दै गठबन्धनमा रहेका कुनै पनि दल एक्लै निर्वाचनमा जान नसक्ने दाबी गर्नुभयो। उहाँले गठबन्धनका पछिल्ला समयको अभिव्यक्तिले एकले अर्कालाई विश्वास नगरेको बताउँदै सत्ता गठबन्धनमा पार्टी धेरै देखिए पनि गठबन्धन एउटा मात्रै दलमा परिणत भइसकेको दाबी गर्नुभयो।