• ७ जेठ २०८१, सोमबार

सङ्कल्पका साथ चुनावमा होमिनुस् : महासचिव पोखरेल

blog

प्रशिक्षण कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, साउन २२ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दृढ सङ्कल्पसाथ चुनावमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाव लड्दा २९४ सिटमा जितेकोमा अहिले गठबन्धनसँग लड्दा २०६ जितेको आधारमा दृढ सङ्कल्पका साथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रष्ट भएको उहाँको भनाइ छ ।

एमाले रुपन्देहीले आइबतार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभयो । चौतर्फी घेराबन्दीका बीच चुनावको सामना गरेर अगाडि आएको स्मरण गर्दै उहाँले विपक्षीको चाहना एमालेलाई एक्ल्याउने भएकाले सोहीअनुसारको रणनीति बनाउन आवश्यक रहेको  बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा एक्लै जित्ने पालिकामा कांग्रेस एक्लै लडेको र जसका कारण २० प्रतिशत स्थान जितेको चर्चा गर्नुभयो । कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै आन्तरिक तयारी गरिए जित्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

महासचिव पोखरेलले जनतासँग साक्षात्कार नगरी चुनाव जित्न नसकिने भन्दै कार्यकर्तालाई यसमा सुधार गर्न र जनतासँगको साक्षात्कार बढाउन आग्रह गर्नुभयो । “जनतासँग जति धेरै साक्षात्कार ग¥यो, जनमत उति धेरै बढ्ने हो, स्थानीय चुनावमा यो हुन सकेन, अब भने जनतासँगको साक्षात्कार बढाउनु जरुरी छ” पोखरेलले भन्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको टिप्पणी गर्नुभयो । सङ्घीयताको चर्को विरोध गर्ने चित्रबहादुर केसी र मुलुकमा सात होइन ११ प्रदेश हुनुपर्छ भन्ने उपेन्द्र यादवदेखि संसदीय प्रणालीको वकालत गर्ने कांग्रेस तथा संसदीय प्रणालीको विरोध गर्ने माओवादी केन्द्र एउटै गठबन्धनमा रहनु आश्चर्यजनक रहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले कतिपय बाह्य शक्तिहरु एमालेविरुद्ध लागेको भन्दै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरेकै कारण अदालतको प्रयोग गरेर सरकार ढालिएको टिप्पणी गर्नुभयो । स्थानीय तहक निर्वाचनको सबल पक्षलाई लिएर चुनावी रणनीति बनाउँदै कमजोर पक्षलाई तत्काल सुधार्ने अभियानमा लाग्न जरुरी रहेको उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले आत्मविश्वासका साथ चुनावी अभियानमा लाग्न पनि कार्यकर्तालाई आह्वान गर्नुभयो । १५ वर्षयता एमालेले राष्ट्रिय राजनीतिमा लिएको अडान, खेलेको भूमिका र अगाडि बढाएका विकास योजनालाई जनताले पछिसम्म सम्झिरहने पनि ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले पनि जनप्रतिनिधि र नागरिकको अन्तरसम्बन्धका विषयमा प्रशिक्षण दिनुभयो ।