• ७ जेठ २०८१, सोमबार

जगदीप धनखर भारतका नयाँ उपराष्ट्रपति निर्वाचित

blog

काठमाडौं, साउन २२ गते । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

शनिबार भएको निर्वाचनमा उहाँले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गर्नुभएको छ । १६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि  योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताउनुभयो । पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उहाँले बताउनुभयो । 

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । 

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बन्नुभएको थियो ।