• २० असार २०८१, बिहिबार

स्वास्थ्य सेवाको पहुँच बढाउँदै पालिका

blog

जयमान बुढामगर

रुकुमपूर्व, साउन २२ गते । जिल्लाको तीन गाउँपालिका पुथाउत्तरगङ्गा,भूमे र सिस्ने गाउँपालिकाले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु-याउन प्राथमिकता दिएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली आउनुभन्दा अघि सामान्य स्वास्थ्य परीक्षण तथा औषधिका लागि स्थानीयवासीलाई घण्टौँ हिँड्नुपरेको थियो। त्यो समस्यालाई मध्यजनर गरी स्थानीय सरकारले विभिन्न ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिदिएपछि सामान्य बिरामीका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता हटेको हो।

वडाबाट आधारभूत स्वास्थ्य सेवा दिनका लागि जिल्लाका स्थानीय तहले आफ्नै लगानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेका हुन्। पुथाउत्तरगङ्गाले १० वटा, भूमे र सिस्नेले छ/छवटा गरी रुकुमपूर्वका तीन गाउँपालिकाले आमनागरिकको पायक पर्ने गरी २२ ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि दुर्गम बस्तीका दुःखका दिन कम भएका हुन्। सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुनुअघि तीनवटै गाउँपालिकामा पाँच/पाँचवटा स्वास्थ्य चौकी मात्र थिए। 

पुथाउत्तरगङ्गामा वडा नं. २ पेल्मा, वडा नं. ५ कागरजङ, वडा नं. ३ रन्मा, वडा नं. ४ अर्जल, वडा नं. ९ खाराबाङ, वडा नं. ७ जाङ, वडा नं. १४ नाखा, यसैगरी वडा नं. १३ पीपलटुङ, वडा नं. ६ मयाङ, वडा नं. ११ धमचन गरी गाउँपालिकाले १० ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु-याइएको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो। स्वास्थ्य चौकी पुग्न टाढा हुने भएकाले स्वास्थ्य चौकी रहेका वडामा पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी नागरिकलाई सेवा दिइराखिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो। सामुदायिक स्वास्थ्य एकाइले स्वास्थ्य स्वास्थ्य चौकी बराबरको सेवा दिइरहेकोसमेत घर्तीमगरले जानकारी दिनुभयो। 

भूमेमा वडा नं. १ लुकुम, वडा नं. ७ धर्मशाला, वडा नं. ५ सेराबाङ, वडा नं. ३ झुम्लाबाङ, वडा नं. ८ का कोर्जा र कुचिबाङ गरी छ ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाबाट आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु-याइएको गाउँपालिकाले जनाएको छ। यसैगरी सिस्नेमा वडा नं. १ सिस्ने, वडा नं. २ छिपखोला, वडा नं. ८ भुरुङ्गा, वडा नं. ७ नाथिगाड, वडा नं. ६ खोपिचार र वडा नं. ४ अम्लाचौर गरी गाउँपालिकाले छ ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी दुर्गम गाउँबस्तीमा स्वास्थ्य सेवा पु-याएको छ।

गाउँमै स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइबाट सेवा लिन सजिलो भइरहेको भूमे–१, लुकुमका शान्ति पुनमगरले बताउनुभयो। आधारभूत स्वास्थ्य सेवा पाउनुका साथै थप स्वास्थ्य परामर्शसमेत सामुदायिक एकाइबाट पाइराखेको पुनको भनाइ छ। गाउँपालिकाले स्थापना गरेका सामुदायिक स्वास्थ्य एकाइमा एक जना अनमी र एक जना अहेवले सेवा दिइरहेका छन्। 

साबिक रुकुम हुँदा १५, हाल ४१ स्वास्थ्य संस्था

साबिकको रुकुम जिल्ला हुँदा रुकुमपूर्व क्षेत्रमा १५ वटा स्वास्थ्य चौकीबाट मात्र स्वास्थ्य सेवा पाइरहेका थिए। पछि रुकुम जिल्लालाई दुई भागमा विभाजन गरी रुकुमपूर्व छुट्टै जिल्ला भएपछि र स्थानीय सरकार बनेदेखि १५ वटा स्वास्थ्य चौकीसँगै पछि थप भएको रुकुमपूर्व अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, आँखा उपचार केन्द्र र २२ वटा सामुदायिक स्वास्थ्य एकाइ गरी ४१ वटा स्वास्थ्य संस्थाबाट जिल्लावासीलाई स्वास्थ्य सेवा दिइराखिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभयो। 

हाल जिल्लाबाट ४१ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइराखिएको र यसलाई नै सेवा थप गर्नुपर्ने आवश्यक रहेको गिरीको भनाइ रहेको छ। तीनवटै गाउँपालिकामा एक/एक पालिका अस्पताल पनि भौतिक संरचना निर्माणको कार्य भइरहेको गिरीले बताउनुभयो।