• १२ वैशाख २०८१, बुधबार

दिवङ्गत र निवृत्त शिक्षकलाई तलब

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन २२ गते  । मोरङको कानेपोखरी गाउँपालिकाले मृत्यु भएका र सेवा निवृत्त भइसकेका शिक्षकलाई समेत तलब निकासा गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा गाउँपालिकाले २०७७ साल पुस ८ गते मृत्यु भएका बाल मावि कानेपोखरी –३ का शिक्षकलाई ५१ हजार पाँच सय रुपियाँ निकासा गर्नुपर्नेमा एक लाख २१ हजार ९७४ रुपियाँ निकासा गरेको खुलेको छ । 

यस्तै २०७७ जेठ २१ गते मृत्यु भएका जनमत सरस्वती आधारभूत विद्यालय कानेपोखरी –२ का शिक्षक जनकसिंह दनुवारलाई ५६ हजार ५३७ रुपियाँ निकासा गर्नुपर्नेमा एक लाख एक हजार ७६७ रुपियाँ निकासा दिएको छ । २०७८ जेठ १९ गते सेवा निवृत्त बाल मावि कानेपोखरी –३ का शिक्षक जयराम झाले पाउनुपर्ने रकम ८४ हजार ७८ रुपियाँ थियो । तर गाउँपालिकाले एक लाख ५७ हजार ६४७ रुपियाँ निकासा दिएको देखिएको छ । तीनै जना शिक्षकलाई कुल एक लाख ८९ हजार २७३ रुपियाँ रकम बढी दिइएको देखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले विद्यालयले समयमा सूचना नदिँदा समस्या देखिएको बताउनुभयो। 

“हामी कहाँ कुन शिक्षकको अवकाश कहिले हुन्छ भन्ने अभिलेख हुन्छ। अवकाश हुने शिक्षकको नाममा तलब गएको जिम्मेवारी पालिकाको शिक्षा शाखाले लिनुपर्छ। मृत्यु भएका शिक्षकको विवरण नपठाउने विद्यालय प्रशासन जबाफदेही बन्नुपर्छ,” उहाँले भन्नुभयो। साथै यसरी बढी गएको रकम सबै असुल उपर गरिने उहाँले बताउनुभयो।