• २४ वैशाख २०८१, सोमबार

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

नेपाल एक चीन नीतिको पक्षमा छ : गृहमन्त्री खाण

blog

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । तस्बिर : गृह मन्त्रीको निजी सचिवालय

काठमाडौँ,  साउन  २० गते । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ । 

गृह मन्त्रालयमा शुक्रबार  भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने बारे छलफल भयो । 

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताउनुभयो । गृहमन्त्री खाणले भन्नुभयो, ‘‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’’

उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । 

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताउनुभयो । 

सरकारले बिहीबार मात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताउनुभयो । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

उहाँले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराउनुभएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ ।