• १६ चैत २०८०, शुक्रबार

बिदाइको नाममा मनपरी शुल्क

blog

काठमाडौँ, साउन २० गते  । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका विद्यार्थीलाई बिदाइ गर्ने नाममा विद्यालय सञ्चालकले विद्यार्थीबाट मनपरी शुल्क उठाउन थालेका छन् । 

प्राचार्यको हस्ताक्षरमा विद्यार्थीमार्फत अभिभावकलाई पत्र पठाएर विद्यालयहरूले बिदाइका लागि रकम उपलब्ध गराइदिन अनुरोध गरेका छन् । कतिपय विद्यालयले त अभिभावकलाई पठाएको पत्रमा रकम नै तोकेर उक्त रकम विद्यार्थीका साथमा पठाइदिन अनुरोध गरेका छन् । 

यस्ता विद्यालयले एसईईमा सहभागी भएका विद्यार्थीलाई बिदाइ गर्दा अहिले दस कक्षामा पढिरहेका विद्यार्थीबाट रकम उठाउने गरेका छन् । उक्त रकम बिदाइ गरिने विद्यार्थीलाई उपहार किन्न, शिक्षक, कमचारीलाई खाजा तथा खानामा खर्च हुने गरेको छ । 

हालै मात्र पुरानो बानेश्वरस्थित एक विद्यालयले प्रतिविद्यार्थी दुई हजार रुपियाँका दरले रकम उपलब्ध गराउन अभिभावकलाई पत्र पठाएको थियो । कतिपय विद्यालयले यस्तो कार्यक्रममा प्रतिविद्यार्थी पाँच हजार रुपियाँसम्म रकम उठाउने गरेको विद्यालय सञ्चालकहरूले नै बताउनुभएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का काठमाडौँ उपाध्यक्ष रिता राई दाहालले भन्नुभयो, “यस्तो संस्कार सबैजसो विद्यालयमा छ । विद्यालयले हैसियतअनुसार विद्यार्थीबाट पाँच सय रुपियाँदेखि पाँच हजार रुपियाँसम्म उठाउने गरेका छन् ।”

तर विद्यार्थी बिदाइका लागि समेत उनीहरूबाटै चर्को शुल्क असुलेको भन्दै अभिभावक तथा सरोकारवालाबाट चर्को विरोध हुने गरेको छ । आफैँले दस वर्षसम्म पढाएको विद्यार्थीलाई बिदाइ गर्दासमेत उनीहरूबाटै शुल्क असल्नु व्यापारिक मानसिकताको उपज भएको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थी बिदाइ गर्नुप-यो भन्दै चर्को शुल्क उठाउनु गलत हो । विद्यालयले तोकेर नै शुल्क उठाउन खोज्नुले  आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई मर्का पर्छ । यसतर्फ विद्यालय सञ्चालकले ध्यान दिनुपर्ने हो ।”

प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले विद्यार्थीलाई बिदाइको नाममा चर्को शुल्क उठाउनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य कार्यक्रम गर्नु र सामान्य खर्च उठाउनु स्वभाविक हो तर विद्यार्थीलाई यति पैसा अनिवार्य रूपमा लिएर आउनु भन्दै निर्देशन दिनु गलत हो ।”