• ५ साउन २०८१, शनिबार

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

blog

नारायण काफ्ले

काठमाडौँ, साउन २० गते ।  सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो । 

संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका लागि ‘अभियान फाँट’ तोकिएको छ । सोही फाँटले अब मुद्दा व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैधानिक इजलास लाग्ने बाहेकका दिनमा अभियान फाँटका मुद्दाका लागि इजलास गठन भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुराना मुद्दा फर्स्योट बढाउने कार्ययोजनाअनुसार अहिले छुट्टै फाँट सञ्चालनमा आएको छ । संवैधानिक इजलास बस्ने दिनबाहेक अब नियमित रूपमा नै पुराना मुद्दा पेसीमा चढ्ने छन् ।” अहिले संवैधानिक इजलास साप्ताहिक रूपमा दुई दिन बस्ने अभ्यास छ । 

बुधबार साप्ताहिक पेसी सूचीमा रहेका मुद्दा र शुक्रबार प्रारम्भिक सुनुवाइका लागि पेस हुने निवेदनका लागि संवैधानिक इजलास गठन हुने गरेको छ । प्रवक्ता पौडेलका अनुसार अहिले प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्नुपर्ने मुद्दाको सङ्ख्या न्यून छ । जसकारण साप्ताहिक रूपमा बुधबार मात्र नियमित रूपमा इजलास गठन भइरहेको छ । 

सर्वोच्चका अनुसार अहिले पाँच वर्षभन्दा पुनारा मुद्दाको सङ्ख्या चार हजार ८०२ थान छ । अभियान फाँटमा विचाराधीन मुद्दाको यो विवरण साउन १९ गतेसम्मको हो । चार हजार ८५४ मुद्दा बाँकी रहेकोमा साउन १९ सम्म ५२ थान मुद्दा फस्र्योट भएका छन् । यस्तै, दुई वर्षभन्दा बढी समयका पुराना मुद्दाको सङ्ख्या १७ हजार ३१७ छ । कुल लगतमा फुटकर निवेदन ५४१ र थुनुवा रहेका मुद्दा एक हजार ६९९ रहेका छन् । 

न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वको सुझाव समितिले पुराना मुद्दा हेर्ने इजलास संवैधानिक इजलास लाग्नेबाहेकका अरू दिनमा राख्न सुझाव दिएको थियो । कार्यदलले २०८०/८१ को अन्त्यसम्म पुराना मुद्दा शून्यमा झार्ने कार्ययोजना पनि सुझाएको छ । 

मुद्दा फर्स्योटमा सुधार

सर्वोच्च अदालतले मुद्दा फर्स्योटमा गत वर्षभन्दा सामान्य सुधार गरेको छ  । कोरोनालगायतका कारण अघिल्लो वर्ष असार मसान्तसम्म सर्वोच्चले कुल लगतको १४.१७ प्रतिशत मात्र मुद्दा फर्स्योट गरेको थियो । २०७९ असार मसान्तसम्म २०.२ प्रतिशत मुद्दा फस्र्योट अदालतले गरेको छ । 

अदालतले जिम्मेवारी सरेका २७ हजार ३९० तथा नयाँ दर्ता भएका नौ हजार ७६४ थान मुद्दामध्ये सात हजार ६५ थान मुदा फस्र्योट गरेको हो । कुल लगत ३७ हजार १५४ को यो २०.२ दुई प्रतिशत हो । ३० हजार ८९ मुद्दा जिम्मेवारी सरेका छन् ।