• ५ साउन २०८१, शनिबार

नौ केजीको ट्युमरको सफलतापूर्वक शल्यक्रिया

blog

निशा राई

धरान, साउन १९ गते । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ के.जी वजनको ट्युमरको जटिल शल्यक्रिया गरी सफलता पूर्वक निकालिएको छ । 

उक्त शल्यक्रिया सप्तरी जिल्ला निवासी ५५ वर्षीय एक पुरुषको साउन ९ गते भएको थियो । निजको पेटको पछिल्लो भागमा रहेको ९ के.जी वजनको ट्युमरको शल्यक्रिया जी.आई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणाल विक्रम देवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो । 

ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूला रगतको नशा जस्तै मिर्गौला र यस अंगबाट आएको पिसाबको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरुसग गँंसिएको हुनाले उक्त सर्जरी जटिल मानिन्छ ।  बिरामीको शल्यक्रियामा ट्युमरका साथै मिर्गौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नु परेको थियो । 

सफल जटिल शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणाल विक्रम देवको नेतृत्वमा जी.आई सर्जरी विभागबाट प्रा.डा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न हुनुहुन्थ्यो । 

साथै एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन रहनुभएको र नर्सिङका टिममा गीता बि.क., रेनुका चौधरी र शोभा राईको संलग्नता रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि बिरामी निको भएर घर फर्केका छन् ।