• ४ जेठ २०८१, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिकामा छड्के

एकै दिन ३२ जना कर्मचारी अनुपस्थित

blog

कर्मचारी उपस्थित भए नभएको छड्के अनूगमन गर्दै नगर प्रमुखसहितको टोली । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन १९ गते । बिहान सवा १० बजेसम्म कार्यालयमा सेवाग्राही खचाखच भरिए पनि कर्मचारीहरु नआएको देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले विहीबार कर्मचारीको हाजिरी छड्के गरेको छ । हाजिरी छड्के गर्दा एकै दिन ३२ कर्मचारी अनुपस्थित रहेको देखिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले विहीबार उपमहानगरपालिका कार्यालयमा कर्मचारीको हाजिरी छड्के अनूगमन गर्दा एकसाथ ३२ जना कर्मचारीले हाजिरी नगरेको पाइएको छ । नगर प्रमुख विष्टका अनुसार विहान १०ः२० बजे हाजिरी छडके गर्दा १२ जना अधिकृत स्तरका कर्मचारी पनि अनुपस्थित रहेको पाइएको हो । 

यसैगरी पाँचौ तहका ७ जना र करारका १३ जना कर्मचारी पनि अनुपस्थित रहेको पाइएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले विहीबार आकस्मिक रुपमा कर्मचारीको हाजिरी अनूगमन गरेको हो । 

“सामुदायिक विद्यालयमा हाजिरी अनुगमन गरिरहँदा नगरको प्रशासनिक कार्यालय भित्रै बेथिति देखियो,” नगर प्रमुख बिष्टले भन्नुभयो, “पहिलो चरणमा अनुपस्थित कर्मचारीलाई हाजिरीमा गयल गरेर छोडेका छौं, निरन्तर लापरवाही दोहोरिएमा कारवाही प्रक्रिया अघि बढ्छ ।” 

अनूगमनका क्रममा शाखा तथा महाशाखा पुगेको नगर प्रमुख विष्टसहितको टोलीले कर्मचारीलाई दैनिक रुपले कार्यालय समयमा उपस्थित रहन र समयभित्रै उपस्थिति जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेका नगर प्रमुख विष्टसहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा निरन्तर अनुगमन गर्ने जनाएको छ ।