• ११ मंसिर २०८१, मङ्गलबार

सैँतीस साना सिँचाइ सम्पन्न

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन १९ गते । सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन्।

ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न योजनाबाट तीन सय रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको ज्ञान केन्द्रका प्रमुख सुजन अमगाईले जानकारी दिनुभयो। एउटा योजनालाई कम्तीमा ६० हजार रुपियाँदेखि बढीमा एक लाख ५० हजार रुपियाँसम्म अनुदान दिइएको कृषि प्रसार अधिकृत मण्डलले बताउनुभयो। कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर, मरिण, हरिहरपुरगढी, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिकामा साना सिँचाइ योजना सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

साना सिँचाइ योजनाअन्तर्गत आवश्यक प्लास्टिक पाइप खरिद, पोखरी निर्माण, मोटर खरिद तथा इनार निर्माणलगायतका काम भएको कार्यालय प्रमुख अमगाईले जानकारी दिनुभयो। गोलन्जोर गाउँपालिका–५ स्थित निरज अर्गानिक तरकारी खेती फर्मका सञ्चालक किसान कपिल भुजेल साना सिँचाइ कार्यक्रमअन्तर्गत आफूले पाइप खरिद, इन्टेक र पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको बताउनुहुन्छ। उहाँले २१ रोपनी जमिनमा मौसमअनुसारको तरकारी खेती र जुनार खेती गर्दै आउनु्भएको छ। ठूला सिँचाइ आयोजनाले समेट्न नसकेको स्थानमा बर्सेनि साना सिँचाइ आयोजना निर्माण गरी जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ।