• ४ साउन २०८१, शुक्रबार

१९ दिनमा २२ अवैध लागूऔषध कारोबारी पक्राउ

blog

कठमाडौं, साउन १८ गते। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। बुधवार ब्यूरोले पत्रकार सम्मेलन गरेर वि.सं २०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२ लागूऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको हो। 

पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन्। कुल पक्राउ परेका २२ जनाबाट अवैध लागूऔषध खैरो हेराइन ४५९ ग्राम, लागूऔषध डायलेक्श डिसी ११८० बोतल (१०० एमएल), लागुऔषध नाइट्रभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान फेला परेको हो। 

यी सबै लागूऔषधको कुल अवैध बजार मूल्य ५८ लाख १० हजार ८ सय रहेको छ। पत्रकार सम्मेलनमा बोल्दै ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैधरुपमा लागूऔषध खैरो हिरोइन, त्यस्तै नियन्त्रित लागूऔषध डायलेक्श डिसी, नाइट्राभेट ट्याब्लेट र खैरो हिरोइन कारोवार गर्ने व्यक्तिलाई पक्राउ गरेको बताउनुभयो। 

उहाँले अहिले कारोबारीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागूऔषध ऐन २०३३ अनुसार कानुनी कारबाही भइरहेको बताउनुभयो। उहाँले पक्राउ परेका व्यक्ति धेरैजसो २२ देखि ४५ वर्ष उमेर समूहका युवा रहेको उल्लेख गर्नुभयो। उहाँले आजैमात्र पनि प्रहरी टोलीले सर्लाहीबाट दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको बताउनुभयो।