• ८ जेठ २०८१, मङ्गलबार

समाजवादी केन्द्र बनाएर समाजवादी भइँदैन : अध्यक्ष ओली

blog

कार्यक्रममा उपस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओलीलगायत शीर्ष नेता ।

काठमाडौं, साउन १७ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजवादी केन्द्र बनाउदैमा समाजवादी नहुने बताउनुभएको छ। मंगलबार केन्द्रीय कार्यालयमा आयोजित २५ औं तुलसीलाल स्मृति दिवस कार्यक्रममा उहाँले विगतमा एमाले फुटाउन भूमिका खेल्नेहरु अहिले एकै ठाउँमा भेला भएकोसमेत बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, “पाँच भाइ भेला भएछन्, पार्टी फुटाउनेहरु, हिजो एमाले फुटाउनेहरु जम्मा भएछन्। के पो बनाउने रे ! समाजवादी केन्द्र बनाउने, समाजवादी भन्दैमा भइदैन। तिनीहरु न समाजवादी हुन् न केही हुन्।”

दुई तिहाइको कम्युनिष्ट पार्टी कमजोर पारेर वामपन्थी सिध्याउन गठजोड गर्ने वामपन्थी हुन नसक्ने धारणा उहाँको छ। “गठबन्धनलाई जनताले जवाफ दिनुपर्छ, वामपन्थी लोकतान्त्रिक र देशभक्त पनि मोर्चा बन्न सक्छ। यस स्थितिलाई तोड्नुपर्छ”, उहाँले भन्नुभयो।

उहाँले सीपी मैनालीलाई एमालेमा समाहित हुनसमेत आग्रह गर्नुभयो। प्रतिक्रियावादीको चुनौती बढेको भन्नुहुदै उहाँले एकअर्कालाई राम्रोसँग चिनेको र सुशासन, विकास लगायतका मुद्दामा अलग बसिरहन नपर्ने उल्लेख गर्नुभयो। 

“अलग बस्नुपर्ने कारण छैन। अनावश्यक के जति नगरौं, एकतावद्व भएर जाऔं। गठबन्धन छोडेर आए भने त्यसका उद्देश्य परित्याग गरेर आए भने त्यसका बारे पनि विचार गरौंला”, उहाँले भन्नुभयो।

आगामी निर्वाचनमा वास्तवमा शक्ति, चेतना र संगठनले लोकतन्त्रका लागि लडेर ल्याएको सचेतना देखाउनुपर्ने भनाइ उहाँको छ। उहाँले महंगीका कारण जनताले कष्ट भोग्नुपरेको बताउनुभयो। उहाँले अमात्यलाई स्मरण गर्नुहुदै उहाँले बुद्ध दर्शन र पूर्वीय दर्शनका बारेमा पनि पुस्तक लेख्नुभएको उल्लेख गर्नुभयो।