• ६ कात्तिक २०८१, मङ्गलबार

चिकित्सा क्षेत्रको गुणस्तरमा ध्यान दिन आवश्यक

blog

काठमाडौँ, साउन १६ गते । बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरी आएका चिकित्सकहरूबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। बङ्गलादेशमा अध्ययन गरेर फर्केका चिकित्सकहरूबीच आपसमा सहयोग तथा सद्भावको भावनाले पुनर्मिलन कार्यक्रमको आयोजना गरिएको हो। ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बङ्गलादेश’का अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले नेपालमा बङ्गलादेशबाट अध्ययन पूरा गरेका चिकित्सक पाँच हजार रहेको जानकारी दिनुभयो। 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालमै चिकित्सा शिक्षालाई व्यवस्थित गरेर गुणस्तरमा ध्यान दिन तथा स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्ने बताउनुभयो। उहाँले बङ्गलादेशमा नेपाली डाक्टरले अध्ययन गर्ने मौका पाएकाले नेपालको स्वास्थ्य क्षेत्र हाँकिरहेको बताउनुभयो। मन्त्री खापुङले पछिल्लो पटक स्वास्थ्यबाहेक बङ्गलादेश सरकारसँग ऊर्जा व्यापारको क्षेत्रमा समेत सरकारले सहकार्य गर्ने कार्य बढाएको जानकारी दिनुभयो। 

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले यस्ता पुनर्मिलन कार्यक्रमले सहयोगको भावना जागृत गराउने बताउनुभयो। नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बङ्गलादेशबीचको सम्बन्धको चर्चा गर्दै दुई देशबीच स्वास्थ्य शिक्षामा सहकार्य हुँदै आएको बताउनुभयो। कार्यक्रममा डा. भोला रिजाललाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो। बङ्गलादेशबाट अध्ययन गरी आएका अन्य डाक्टरहरूलाई समेत सम्मान गरिएको थियो। 

बङ्गलादेशबाट अध्ययन गर्नुभएका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले ५० वर्ष पहिले नेपालले बङ्गलादेशलाई सहयोग गर्ने गरेकोमा अहिले बङ्गलादेश नेपाललाई सहयोग गर्ने मुलुकमा पुगेको बताउनुभयो। 

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार डा. आरपी विच्छा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्की, बङ्गलादेशका लागि नेपालका पूर्वराजदूतद्वय प्राडा चोपलाल भुसाल, डा. वंशीधर मिश्र, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललगायतले बङ्गलादेशमा अध्ययन गर्दाका अनुभूति सुनाउनुभएको थियो। 

उहाँहरूले नेपाल र अन्य छिमेकी मुलुकहरूमा चिकित्सा अध्ययनको सहज पहुँच नहुँदा बङ्गलादेशमा अध्ययन गर्ने मौका पाएको बताउनुभयो।