• १० मंसिर २०८१, सोमबार

सन्दर्भ : विश्व स्तनपान सप्ताह

प्रचुर मात्रामा स्तनपान

blog

हरेक वर्षझैँ अगस्त १ देखि ७ सम्म नेपालमा पनि ‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ। विश्व स्तनपान सप्ताहको मुख्य उद्देश्य स्तनपानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गरी विश्वभरका आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नु हो। आमा तथा शिशुको सर्वोपरि स्वस्थ जीवनका लागि स्तनपानको महत्त्वबारे व्यापक चेतना अभिवृद्धि गर्न विश्व स्तनपान सप्ताह मनाउन परिवार, समुदाय, स्वास्थ्य, शिक्षा, सेवा, कार्यस्थल, सङ्घसङ्गठन तथा राष्ट्रलाई सघाउन यस वर्षको नाराले आह्वान गरेको छ। स्तनपान सप्ताहलाई विश्वव्यापी रूपमा सन् १९९२ देखि हरेक वर्ष अगस्त महिनाको १–७ तारिखसम्म मनाउन सुरु गरिएको हो।

शिशु जन्मनासाथ आमाले आफ्नै दूध चुसाउन सुरु गरी कम्तीमा दुई वर्षसम्म नछुटाइकन चुसाउनुलाई नै स्तनपान भनिन्छ। जन्मेको एक घण्टाभित्रै आमाको बिगौती दूध ख्वाउनु र मागेअनुसार खान पाउने गरी आफ्नै स्तन चुसाउनु नै स्तनपान हो। २४सै घण्टा शिशुले खान चाहेअनुसार तथा आमालाई महसुस वा चाहना भएसम्म कम्तीमा छ महिनासम्म आमाको दूध मात्र 

चुसाउनुलाई ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ। सन् २०१६ देखि विश्व स्तनपान सप्ताह र दिगो विकास लक्ष्यको सहकार्य सुरु भयो र सन् २०१८ मा विश्व स्वास्थ्य सङ्घीय साधारण सभाले विश्व स्तनपान सप्ताहलाई स्तनपान प्रवर्धन महìवपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको हो।

विश्वभरका पाँच जना बालबालिकामध्ये तीन जनाले जन्मेको एक घण्टाभित्र स्तनपान गर्न पाएका छैनन् भने ४० प्रतिशत शिशुले मात्र छ महिनासम्म र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन्। स्तनपानको प्रभावकारी प्रवर्धन गरेमा जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका पाँच वर्षमुनिका कम्तीमा नौ लाखजति बालबालिकालाई बचाउन सकिन्छ। 

स्वास्थ्य सेवा विभागको २०७७/७८ तथा नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनअनुसार नेपालका ६६ प्रतिशत र जन्मेदेखि छ महिनामुनिका करिब ३७ प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन्। ११.२ प्रतिशत शिशु जन्मँदै कम तौल (२५०० ग्रामभन्दा कम) भएका छन् भने छदेखि २३ महिनासम्मका ६९ प्रतिशत बालबालिका रक्तअल्पता भएका छन्। पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत उमेरअनुसार तौल नपुगेका, ११ प्रतिशत ख्याउटे, ३६ प्रतिशत बामपुड्के, १० प्रतिशत उचाइअनुसार दुब्लो (लुरे), २९ प्रतिशत उमेरअनुसार कम तौल भएका छन्। स्वास्थ्य संस्थामा जम्मा ६५ प्रतिशत सुत्केरी हुन्छन् भने २५ प्रतिशत सुत्केरी आमाले मात्र तीन पटक जाँच गराउँछन्। 

स्तनपान आमा तथा शिशु दुवैका लागि अत्यन्त महìवपूर्ण छ। यसले शिशुलाई श्वासप्रश्वास, कीटाणु तथा जीवाणुको सङ्क्रमण, पेटमा हुने सङ्क्रमण, मधुमेह एवं कतिपय क्यान्सर हुनबाट बचाउँछ भने उमेर बढ्दै गएपछि दम, मोटोपनाजस्ता स्वास्थ्य समस्याको जोखिमलाई न्यून गराउँछ। सुत्केरी हुनासाथ स्तनबाट निस्कने पहिलो पहेँलो, बाक्लो बिगौती दूधमा शिशुको सुरुका छ महिनाका लागि सम्पूर्ण वृद्धि विकासमा आवश्यक कार्बोहाइडे«ट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छन् । आमाको दूध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोगप्रतिरोधक क्षमता भएको पूर्ण खाना हो। त्यस्तै स्तनपान गराउने आमालाई सुत्केरी हुनासाथ पाठेघर खुम्च्याउन मद्दत गरी रक्तश्राव हुनबाट बचाउँछ भने स्तन, पाठेघरको क्यान्सर, मधुमेह र सुत्केरीपछि मनोरोग हुनबाट बचाई आमा तथा शिशुबीच मायाममता र प्रगाढ सम्बन्ध कायम राख्न सघाउँछ । नवजात शिशुका लागि आमाको दूध नै सर्वोत्तम पोषिलो खाना हो। आमाको दूधमा शिशुको चौतर्फी वृद्धि विकासका लागि आवश्यक सबै पोषक तìव पाइन्छन्। स्तनपानले शिशुलाई कतिपय आकस्मिक तथा दीर्घ रोग लाग्नबाट बचाउँछ। आमाको दूध मात्र खाएका शिशुलाई मोटोपन, दम, झाडापखाला, निमोनिया, टाइप १ मधुमेह, पेट, कानको सङ्क्रमण तथा अकस्मात शिशुको मृत्युजस्ता समस्याको जोखिम कम हुन्छ। 

स्तनपान गराएका शिशुलाई आमाको दूधबाट रोगप्रतिरोधात्मक क्षमता प्राप्त हुने हुँदा विभिन्न रोगबाट बच्न सक्ने क्षमता प्राप्त हुन्छ। आमाको दूध तयारी अवस्थाको र भरपूर पोषक हुने हुँदा बोतल अथवा फर्मूला दूधजस्तो कृत्रिम पदार्थ मिसाउन पर्दैन। यसो हुँदा आमाले कहीँ यात्रा गर्दा, मेलामा समेत सजिलै र ढुक्कसंग स्तनपान गराउन सक्छन्। गर्भावस्थामा मधुमेह (जेस्टेसनल डाइबिटिज) भएमा जन्मने शिशुमा मोटोपन हुन सक्ने भए तापनि जन्मेपछि पहिलो छ महिनासम्म प्रचुर मात्रामा स्तनपान गराएमा त्यस्तो मोटोपना आफैँ हराउँछ।

समस्या

नेपालका महिलाको शैक्षिक स्तर कमजोर, चेतनाको कमी, परिवार, समाजमा स्तनपानसम्बन्धी रूढिवादी परम्पराले असहयोग, नकारात्मक र अस्वस्थकर संस्कार छँदै छ। पहिलो पटक सुत्केरी भएका धेरैजसो महिलालाई स्तनपानको महìवबारे ज्ञान, धारणामा परम्परागत शैली, सुत्केरी भएपछि साल ननिस्केसम्म दूध चुसाउन नहुने, जन्मनासाथ शिशुलाई स्तनपानको सट्टा मह, चिनी, सख्खर ख्वाउने प्रचलन छँदै छ। 

सुरुमा स्तनपान गराउँदा दूध कम आए पनि नछोडिकन नित्य चुसाउँदै जाँदा दूध आउन थाल्छ भन्ने चेतनाको कमीले गर्दा परिवारबाट काममै जोड दिने, कम दूध आएको बहानामा नचुसाउनेसमेत गरिन्छ। अरू सुत्केरीलाई चुसाउन लगाउने, एकातिरको स्तन मात्र चुसाउने, जहाँ भए पनि टुसुक्क बसेर वा उठेरै स्तनपान गराई शिशुलाई सुुताएर छाड्ने अनुचित चलनले ठूलो समस्या उत्पन्न भएको छ भने बढ्दो र बिगँ्रदो सहरीकरण, सुत्केरीपछिको परीक्षण नगराउने बानीले समस्या उत्पन्न भएका छन् । अर्कोतिर बजारमा स्तनपानलाई प्रतिस्थापन गर्ने सेरेलेक, ल्याक्टोजिनजस्ता पदार्थको उपलब्धताका कारणले पनि प्रभावकारी स्तनपानमा समस्या आएका छन्। 

सरकारी कदम

नेपाल सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाएको छ तर कार्यान्वयन पक्ष अत्यन्त फितलो छ। प्राथमिकता क्रममा स्तनपान प्रवर्धन तथा शिक्षाका कार्यक्रम सञ्चालनमा पनि कमजोरी देखिन्छ। यसका साथै सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने बजारमा सेरेलेक, ल्याक्टोजिनजस्ता विभिन्न दुग्ध पेयपदार्थविरुद्ध कानुन बनाए पनि कार्यान्वयन पक्षतर्फ अनुगमन बढाई कृत्रिम पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाउनुपर्छ। 

साथै राज्यका हरेक तहका समुदायस्तरसम्म व्यापक रूपमा सही किसिमबाट जन्मेको छ महिनासम्म प्रचुर मात्रामा स्तनपान गराउन सहयोग गर्ने, एक पटकमा कम्तीमा १५/१५ मिनेट दुवै स्तन गरी ३० मिनेटसम्म र शिशुले चुस्न खोजेसम्म जतिबेला पनि चुसाउनुपर्ने सन्देश पु-याउनुपर्छ। दुवै दूध चुसाएपछि शिशुलाई घोप्टो पारी छातीमा टाँसेर पिठ्युमा थमथमाउनुपर्छ। यसो गर्दा शिशले डकार्छ र बान्ता गर्ने डर पनि हुँदैन। मुलुकका ७५३ स्थानीय तहका चार हजारभन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलगायत अन्य जनशक्तिलाई अभिमुुखीकरण तालिम प्रदान गरी आमालाई स्तनपान प्रवर्धन गर्नुपर्छ। 

स्तनपान र आमाको पोषण 

किशोरी, गर्भवतीलाई पोषिलो खाना तथा सुत्केरीलाई स्तनपानबारे राम्ररी शिक्षा दिनुपर्छ। पोषण नै स्वास्थ्यको बलियो आधार भएकाले गर्भवती र सुत्केरीलाई घरमा बनाइने दाल, भात, गेडागुडीको रस, ज्वानोको झोल, हरियो तरकारी÷सागपात र मौसमअनुसारका फलफूल तथा भएसम्म दूध, अण्डा, माछा–मासु आदि पोषिलो खानेकुरामा जोड दिनुपर्छ। 

यो दिवस मनाउने क्रममा हरेक वर्ष एक दिन विद्यालय, कलेजका विद्यार्थी, शिक्षक, सरकारका अधिकारीको सहभागितामा प्रभातफेरी गरी उपत्यकाका तारे होटलमा कार्यक्रमसमेत गरिन्छ तर कार्यक्रममा गर्भवती, सुत्केरी आमालाई सहभागी बनाइएको देखिँदैन। त्यसैले आमासमूह, गर्भवती, सुत्केरी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, अभिभावक, नागरिक समाजका सदस्य आदिको सहभागितामा जानकारीमूलक कार्यक्रम गरी यो दिवस मनाउनुपर्छ । मुलुकका ७५३ वटै तहका स्वास्थ्य निकाय, पालिकास्तरका प्रतिनिधि, गाउँघर क्लिनिक र खोप केन्द्रमा समेत शिशुआहार कार्यक्रम परिचालन गरेर विशेष स्तनपान सप्ताह अभियानका रूपमा मनाइनुपर्छ।