• १० मंसिर २०८१, सोमबार

राखेपको बाँकी बोर्ड सदस्य टुङ्गो चाँडै लाग्ने

blog

राखेप बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायत पदाधिकारीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन १५ गते । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने बाँकी सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ । आइतबार बसेको राखेपको ११३ औं बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहनुभएका मन्त्री गहतराले केही निकायका प्रतिनिधिहरु नियुक्त गर्न बाँकी रहेको भन्दै छिट्टै बोर्डलाई पूर्णता दिने बताउनुभएको हो ।

बोर्डमा अब ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपबाटै एक सदस्य आउन बाँकी छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै वार्षिक कार्ययोजना बनाउनका लागि राखेपको पहिलो बोर्ड बैठक वसेको हो ।

बोर्ड सदस्य हरि खड्का नेपाल पुलिसमा जागिरे रहँदा नक्कली प्रमाणपत्र बुझाएकोमा अदालतबाट दोषी ठहर भएपछि खड्काको पद स्वतः रिक्त थियो । सोही पद र अन्य निकायका सदस्य नियुक्त गर्न बाँकी छ । मन्त्री गहतराजले बोर्डको बैठक बसेर गरेका निर्णयबाट खेलकुदका कामलाई अगाडि बढाउनु पर्ने सुझाव दिनुभयो । संस्थाबाट गरिने निर्णयबाट संस्थाहरुको औचित्यता झल्किने भन्दै अडिग रही काम गर्न आग्रह गर्नुभयो ।

बोर्ड बैठक कम्तीमा पनि वर्षमा दुईपटक बस्नुपर्ने भनिएपनि आवश्यकताका आधारमा जति पटक पनि बस्नसक्ने मन्त्री गहतराजको भनाई थियो । मन्त्री गहतराजले नयाँ अर्थिक वर्ष शुरु भएसँगै नजिकिँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेपको वार्षिक कार्य योजनालाई एजेन्डा बनाई बोर्ड बैठक बोलाउनु भएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनमा बोर्ड बैठकले वार्षिक कार्यक्रम योजना तथा बजेटमाथि छलफल गरी स्विकृत गर्ने प्रावधान छ । बैठकमा मुख्यतः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केन्द्रित रहेर छलफल हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

त्यसका लागि विभिन्न उपसमिति सहित तयारीका काम अघि बढाएको छ । प्रतियोगिताको तयारी स्वरुप खेल सामग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ । गठित वभिन्न उपसमितिका संयोजकले आफ्नो जिम्मेवारीलाई पनि अगाडि बढाइसकेका छन् ।