बाजुरा समाचारदाता
बाजुरा, जेठ ५ गते । बाजुराका विभिन्न ठाउँमा रहेका पानीका नाउला धमाधम सुक्दै थालेका छन् । पुस्तौँदेखि पानी खान प्रयोगमा आएका नाउला पछिल्लो समय सुक्न थालेका हुन् । बुढीनन्दा नगरपालिकाका दत्त विकले मानिस तथा गाईगोरुलाई समेत पानी खान सहज हुने गरेका पानीका नाउला सुक्न थालेको बताउनभुयो । उहाँले भन्नुभयो, “माथि लेकमा खर्क छाना छन् । गाईभैँसी लेकमा लगेको समयमा प्रयोगमा आउने गरेका पानीका नाउला सुकिरहेका छन् । हामी लेकमा जाँदा त्यही नाउलाको पानी खान्थ्यौँ । ती सुक्दा कठिनाइ हुन थालेको छ ।”
यस्तो समस्या बाजुराका नौ वटै स्थानीय तहमा देखिन थालेको छ । यहाँका लेकमा रहेका खर्कमा भेडाबाख्रा, गाईभैँसी चराउन लैजाँदा आफू र वस्तुभाउका लागि पानी खान समस्या हुने गरेको छ ।
गाउँमा जथाभाबी सडक खन्दा बाढीपहिरोको जोखिम बढ्नुका साथै नाउला पनि सुक्न थालेको स्थानीय बुढापाकाको भनाइ छ । जिल्ला वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डिसीले भन्नुभयो, “गाउँमा अनावश्यक सडक खनिनु र वनजङ्गल फँडानी बढ्दा पानीका स्रोत पनि सुक्दै जान थालेका छन् ।”