भदौ २३/२४ गतेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले नेपाली राष्ट्रिय राजनीतिको स्वरूप, लय र गन्तव्य फेरबदल भएको छ । फागुन २१ गते सम्पन्न निर्वाचन परिणामले विगत सात दशकदेखि स्थापित राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, मधेशकेन्द्रित दल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आकार संसद्मा अविश्वसनीय तवरबाट खुम्च्याइदिएको छ ।
नेपालको राष्ट्रिय राजनीतिमा सात दशकदेखि केन्द्रविन्दुमा रहेको कांग्रेस पार्टीभित्रको अन्तरकलहले तल्लो तहसम्म मानसिक रूपमा विभाजन गरिदिएको छ । नियमित र विशेष महाधिवेशनको विषयले विभाजित नेतृत्व अहिले आआफ्ना विचार समूहको शक्ति सञ्चय गर्न र पुनः सङ्गठित हुन प्रयासरत छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यताप्राप्त गगन थापा नेतृत्वको समूह प्रशिक्षण र सदस्यता अद्यावधिक गर्ने नाममा सात वटै प्रदेश र जिल्ला जिल्लामा प्रतिनिधि पठाएर आफ्नो उपस्थिति र पकड बलियो बनाउन लागेको देखिन्छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षधर नेता कार्यकर्ता सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला गरेर गत भदौ/असोजमा नवीकरण भइसकेका क्रियाशील सदस्य नै १५ औँ महाधिवेशनको मतदाता बन्नुपर्ने अडानमा दृढ देखिन्छन् । यता १४ औँ महाधिवेशनबाट स्थापित डा. शेखर कोइराला समूह पनि पुरानो कोइराला समूहलाई पुनर्जीवित गर्दै डा. शशाङ्क कोइराला, सुजाता कोइरालालगायत पार्टीका पुराना नेता कार्यकर्तालाई पुनः सङ्गठित गर्न गराउन प्रयासरत छन् ।
नियमित र विशेष महाधिवेशनका नाममा चर्किएको अन्तरकलहबिच सम्पन्न भएको विशेष महाधिवेशन र पार्टीका शीर्ष नेताहरूको सहमतिबिना टिकट बाँडफाँट गरेर फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसको पराजयले पार्टीको जरासम्मै हल्लाइदिएको छ । अहिले पार्टी केन्द्रमा देखिएका तीन समूह १५ औँ नियमित महाधिवेशन समयमै सम्पन्न हुनु पर्छ, गर्नु पर्छ भन्ने विषयमा सहमत देखिन्छन् । विशेष महाधिवेशनले मानसिक रूपमा विभाजित नेतृत्व महाधिवेशन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउने विषयमा भने आआफ्नै अडानमा देखिन्छन् ।
शीर्ष नेतृत्वको मतैक्यबिना र कांग्रेसका सबै तहका पुराना नेता कार्यकर्ताको सहभागिताबिना जबरजस्ती कथम्कदाचित् अधिवेशन सम्पन्न भयो भने कांग्रेस पार्टी केन्द्रदेखि तल्लो तहसम्म विभाजन हुने त होइन भन्ने प्रश्नले पार्टीका शुभचिन्तकलाई पिरोलिरहेको छ । पार्टी स्थापना कालदेखि नै कांग्रेसले विभाजनको पीडा पटक पटक बेहोरेको छ । २००८ सालमा मातृकाप्रसाद कोइरालाले, ध३८ समूहको नाममा बखानसिंह गुरुङलगायतले, ३६/७४ का नाममा २०५९ सालमा नेपाली कांग्रेस विभाजित हुँदा लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार भएको थियो । यस्ता घटनाले राष्ट्रियतामाथि नै आँच आउने गरेको इतिहास नेतागणले सम्झिन जरुरी छ ।
लोकतन्त्र स्थापना र पुनस्र्थापनाको आन्दोलन, कांग्रेसको सङ्गठन विस्तार र सुदृढीकरणका लागि आफ्नो यौवन मात्र होइन; सम्पूर्ण जीवन समर्पण गरेका, श्रीसम्पत्ति सिध्याएका असङ्ख्य कार्यकर्ता कांग्रेस पार्टी कुनै बहानामा विभाजित नहोस् भन्ने कामना गरिरहेका छन् । अहिले पार्टीका नेता कार्यकर्तासँग तीन विकल्प देखिन्छन् । पहिलो– विवादका बिच विशेष महाधिवेशन सम्पन्न भएर पनि निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको सभापतित्वको केन्द्रीय समितिलाई मान्यता दिएर रूख चिह्नसमेत प्रदान गरिसकेको हुनाले आफ्ना पूर्वमान्यता र धारणा जे भए पनि रूख र चार ताराको पक्षमा उभिएर क्रियाशील हुने र त्यहीभित्र बसेर सङ्घर्ष गर्ने ।
दोस्रो– पार्टी विधान नियमावली मिचेर सबैको सहमतिबिना एकपक्षीय ढङ्गबाट विशेष महाधिवेशन सम्पन्न भएको हो । यद्यपि अदालतले कानुनी तवरबाट निर्णय गरिसकेको भए पनि कांग्रेसको इतिहास एवं बिपी, गणेशमान, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको विचार तथा भावनालाई आत्मसात् गर्न विशेष महाधिवेशनको नेतृत्वले नसक्ने भएका कारण पार्टीलाई नयाँ शिराबाट पुनर्गठन गर्ने ।
तेस्रो– पार्टीको केन्द्रीय नेतृत्वको नियमित या विशेष महाधिवेशन गर्ने हठ र विवादका कारण पार्टीलाई थिलथिलो बनाएको, फागुन २१ को निर्वाचन परिणामले कांग्रेस पार्टीलाई थप सशक्त बनाउन पार्टी केन्द्रीय तहदेखि स्थानीय तहसम्म आपसी एकता र मेलमिलाप गर्न सन्देश दिएको एवं बिपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, गिरिजाप्रसाद कोइरालाले स्थापना गरेको पार्टीलाई जीवन्त तुल्याउन आआफ्ना अडान छोडेर नयाँ ढङ्गबाट सोच्न जरुरी छ । त्यो भनेको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समिति समायोजन गर्ने । आगामी १५ औँ महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा स्वीकार गर्ने ।
एकताको महाधिवेशन स्वच्छ, निष्पक्ष र विवादरहित ढङ्गबाट सम्पन्न गर्न पार्टीभित्रका तीन वटै पक्षको सहमतिमा पूर्वकेन्द्रीय पदाधिकारीको संयोजकत्वमा सात प्रदेशबाट कम्तीमा तीन÷तीन जना सदस्य रहने गरी एकताको महाधिवेशन र निष्पक्ष निर्वाचन समिति गठन गरेर आगामी मङ्सिरभित्र महाधिवेशन सम्पन्न गर्ने । माथि उल्लिखितबाहेक सबै पक्षलाई स्वीकार्य हुने अरू विकल्पका बारेमा पनि तत्काल बहस अगाडि बढाउन जरुरी छ ।
समय बलवान् हुन्छ । नियति र कर्मले कांग्रेस भविष्यमा बलियो भएर अगाडि बढ्छ कि प्रजापरिषद् जस्तै इतिहासको गर्भमा विलय हुन्छ ? हाम्रासामु ठुलो प्रश्न उठेको छ । समयमै देश, जनता र पार्टीलाई सही दिशा दिन सकिएन भने भोलि पछुताउनुबाहेक हामीसँग के नै पो बाँकी रहन्छ र ? राजनीति सधैँ सिधा बाटो हिँड्दैन, नागबेली बाटो हिँड्ने गर्छ । सबैलाई हेक्का रहोस् ।