• १३ साउन २०८१, आइतबार

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

blog

सुत्केरी दम्पत्ति र नवजात शिशुलाई सुर्खेत पठाइदै । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, साउन १४ गते । दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

लेकम गाउँपालिका –२ सर्मोली गराडी स्वास्थ्यचौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । ७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि उहाँलाई सुर्खेत पठाइएको प्रजिअ उपाध्यायले बताउनुभयो । 

गराडी स्वास्थ्यचौकीका निमित्त प्रमुख अहेब गणेश भट्टका अनुसार सुत्केरी महिला अपाङ्ग र कम तौल र उचाइको हुनुहुन्छ । दुई हप्ता पहिले गोकुलेश्वर अस्पतालबाट उपचारका लागि काली सार्कीलाई डडेल्धुरा अस्पताल पठाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर फर्किएका सार्की दम्पत्ति शनिबार बिहान डेढ बजे गराडी स्वास्थ्यचौकी पुग्नुभएको थियो । 

३४ किलोग्राम तौल र १२५ सेन्टिमिटर उचाइ रहेका गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धारका लागि लेकम गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको अहेब भट्टले बताउनुभयो । शनिबार दिउँसो १२ बजेर ६ मिनेटमा महिलाले कम तौलको बच्चा पाएपछि लेकम गाउँपालिका र दार्चुला प्रशासनको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक अम्बादत्त जोशीले बताउनुभयो । 

श्रीमान देबराम सार्की, सुत्केरी महिला काली सार्की र नवजात शिशुलाई हेलिकप्टरमार्फत दिउँसो सवा २ बजे सुर्खेत अस्पताल पठाइएको उहाँले बताउनुभयो ।