• १६ असार २०८१, आइतबार

मुलुकको विकास गर्न समर्पण आवश्यक

blog

काठमाडौँ, साउन १४ गते  ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक स्थायित्व दिएर अबको दस वर्षमा मुलुकलाई सबैका लागि आकर्षणकोे केन्द्रबिन्दु बनाउन सकिने बताउनुभएको छ । मुलुकको हरेक क्षेत्रले विकासको प्रचुर सम्भावना बोकेको चर्चा गर्दै उहाँले मुलुकको विकासका लागि आआफ्नो ठाउँबाट समर्पण र इमानदारिताका साथ लाग्न सबैसँग आग्रह गर्नुभयो ।

नेपाल विश्व सहयोग सङ्घ र सौरपानी मिडिया प्रालिद्वारा शुक्रबार राजधानीमा आयोजित स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रममा मन्त्री कार्कीले मुलुकको पूर्वदेखि पश्चिमसम्म र हिमालेखि तराईसम्मको आआफ्नै विशेषता हुनुका साथै पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण भएकाले ती सबै क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले मणि नेपाली पनेरुद्वारा लिखित सात जुनी (उपन्यास), मुटु हराएको मान्छे (कविता सङ्ग्रह), हाम्रो झन्डा (बालगीत÷कविता सङ्ग्रह) र स्वर्गको गाथा (गीति सङ्ग्रह) को लोकार्पण गर्नुभयो । सो अवसरमा ‘मानिस ठूलो दिलले हुन्छ’ भन्ने गीति चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको थियो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘हामीसँग कृषि, जलस्रोत र पर्यटनको त्यत्तिकै सम्भावना छ । यी सम्भावनालाई केवल भाषण र दस्तावेजीकरणको विषयवस्तु नबनाएर व्यवहारमा रूपान्तर गर्न सकियो भने अहिलेको जस्तो नेपाली युवाले राहदानी बोकेर विदेशिनुपर्ने बाध्यताबाट मुुलुकलाई मुक्त पार्न सकिन्छ ।’’

उहाँले नेपालका विभिन्न भाषा, संस्कृति र जातजाति समस्या नभई मुलुककै लागि पुँजी  भएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले साहित्यले सबै नेपालीलाई भावनात्मक रूपमा एक ठाउँमा उभ्याउने गरेको बताउनुुभयो । सो अवसरमा नेपाली कांग्रेसका नेता नैनसिंह महरलाई कदरपत्र प्रदान गर्नुका साथै विभिन्न साहित्यकार, सङ्गीतकार, गायिका, सिनेकर्मी, मानव अधिकारवादी लगायतलाई सम्मान गरिएको थियो ।