• १३ वैशाख २०८१, बिहिबार

हाम्रा सम्पदा

कनकमुनी बुध्दको जन्मस्थलः निग्लिहवा अर्थात शोभावती नगर (फोटोफिचर)

blog

कपिलवस्तु, साउन १४ गते । प्राचीन कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि उत्तर पूर्व करिब ८ किमि को दूरीमा रहेको छ–प्राचीन निग्लिहवा अर्थात शोभावती नगर । जहाँ कनकमुनी बुध्दको जन्म भएको थियो ।

यो स्थल गौतम बुध्दको जन्मस्थल लुम्बिनीबाट करिब ३२ कि मि को दूरीमा छ । यही स्थलमा कनकमुनी बुध्दले बुध्दको ज्ञान पाएका थिए । यहाँ अशोक स्तम्भ दुई टुक्रामा  रहेको अवस्थामा छ । विभक्त अशोक स्तम्भ १४ फिट ९ इन्च लामो माथिल्लो टुक्रालाई जमिनमा गाडिएर रहेको अभिलेखसहितको पहिलो टुक्रा भएको स्थानमा मन्दिरभित्र संरक्षण गरिएको छ ।


सम्राट अशोकले २४९ ई पू मा यस स्थलको भ्रमण गरे र सम्राट अशोकले कनकमुनी बुध्दको स्तूपालाई ठूलो बनाए । राजा अशोक राज्याभिषेकको चौधौं वर्षमा कनकमुनीको स्तूपा दोस्रो पटक बढाउन लगाए र २० औँ वर्षमा आफै यस स्थानमा आई पूजा अर्चना गरेर यो स्तम्भ खडा गरेका थिए ।


सन् १८९५ मा निग्लिसागर पोखरीमा स्तम्भ फेला पारेका थिए । यी स्तम्भमा भएको अभिलेख अनुसार सन् १८९६ मा जर्ज बुहलरले अनुवाद गरेका थिए । यस स्थलमा रहेको अशोक र रिपुमल्लको अभिलेखसहितको निग्लीहवा स्तम्भ हो । यो स्तम्भ यस ठाउँमा सन १९९६ मा सारिएको हो ।यहाँ रहेको अशोक स्तम्भमा ब्रह्मलिपिमा पाली भाषाका अक्षर कुदिएका छन् ।


सिंहली ग्रन्थ अनुसार कनकमुनी बुध्दको जन्म स्थलको नाम शोभावती नगर थियो । उनका पिताका नाम यज्ञदत्त र आमाको नाम उत्तरा थियो । त्यही अनुसार भियास र उत्तरा नाम गरेका दुईजना प्रमुख शिष्यहरु पनि थिए । यो एउटा पवित्र तीर्थ स्थलसमेत हो । यहाँ स्वदेशी एवम् विदेशी पर्यटकहरु आई स्तम्भलाई ढोग गर्नुको साथै पूजा अर्चनासमेत गर्ने गर्दछन ।


शान्त वातावरणमा रहेको यो स्थल निकै नै रमणीय समेत रहेको छ । साथै पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो निग्लिहवा अर्थात शोभावती नगरको धेरै नै महत्व रहेको छ ।  यस स्थलमा उत्खनन कार्य गरेमा अन्य विभिन्न पुरातात्विक वस्तुहरु फेला पर्ने बढी सम्भावना रहेको छ ।


यसतर्फ सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक रहेको छ । कपिलवस्तुलाई पुरातात्विक शहर पनि भन्न सकिन्छ किनभने यस कपिलवस्तुमा अझै पनि धेरै पुरातात्विक स्थलहरु ओझेलमा परेका छन ।