• ७ जेठ २०८१, सोमबार

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष दाहाल

blog

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, साउन १३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचार आएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो। उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गर्नुभयो। 

अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको प्रष्ट पार्नुभएको छ। उहाँले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन। बन्दै छैन। हामीले समाजवादी केन्द्र बनाउने गरी छलफल पनि भएको छैन। केही-केही साथीले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो। तर, हाम्रा बैठकमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन। चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ। तर, छलफल टुंगिसकेको छैन।’’ 

अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताउनु भयो। उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उल्लेख गर्नुभएको छ। 

गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाइ छ। अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउनुभयो। संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उहाँको भनाइ छ। उहाँले तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गर्नुभयो। 

अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गर्नुभयो। उहाँले माओवादी समर्थित पत्रकारको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो। उहाँले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गर्नुभयो।