• १६ असार २०८१, आइतबार

उच्चपदस्थ व्यक्तिले सिद्धबाबालाई भेटेकोप्रति सांसद तुम्बाहाङ्फेको आपत्ति

blog

फाइल तस्बिर

काठमाडौं, साउन १३ गते । नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद डा.तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबालाई सरकारका मन्त्री तथा उच्चपदस्थले भेटेकोप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्नुहुँदै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गर्नुभयो ।

सांसद तुम्बाहाङ्फेलेले आरोपित गिरीलाई अदालतले साधारण तारिखमा छोडेकोले न्यायाधीशमाथि पनि प्रश्न उठेको बताउनुभयो । आरोपित व्यक्ति शक्ति केन्द्रका मानिसहरुसँग जोडिँदा पीडितलाई मनोवैज्ञानिक असर पर्ने उहाँको भनाइ छ ।