• १६ असार २०८१, आइतबार

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो

blog

काठमाडौं, साउन १३ गते । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी दिनुहुँदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो ।

उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एसपीपीलाई अगाडि नबढाउने मन्त्रीपरिषदबाट निर्णय भइसकेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरको व्यहोरा संसद्लाई जानकारी गराउन चाहन्छु । यस सम्बन्धमा सांसदहरुबाट व्यक्त भएका धारणाप्रति आभार व्यक्त गर्न चाहन्छु । साउन ९ गते अर्थात् २५ जुलाई २०२२ का दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको जानकारी गराउन चाहन्छु ।’’

परराष्ट्रमन्त्री खड्काले २०७९ असार ६ को मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेता पनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पार्नुभयो ।

नेपालको सर्वोच निकाय मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा सांसदहरुले शङ्का व्यक्त गर्नु अस्वाभाभिक भएको टिप्पणी उहाँले गर्नुभयो । मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गर्नुभयो । उहाँले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताउनुभयो ।

सांसद, सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गएको उहाँको भनाइ छ । विभिन्न निकायहरुबीच एसपीपी अगाडि नबढाउने विषषमा छलफल गर्नुपरेकाले केही समय लागेको स्वीकार मन्त्री खड्काले गर्नुभयो ।