• ४ साउन २०८१, शुक्रबार

विषयगत समितिले पाए पूर्णता

blog

बुटवल, साउन १३ गते ।  लुम्बिनी प्रदेश सभाका चारवटा विषयगत समितिले करिब डेढ वर्षपछि बल्ल पूर्णता पाएको छ। सरकार फेरबदल र राजनीतिक खिचातानीका कारण रिक्त रहेको डेढ वर्षपछि पूर्णता पाएको हो। 

समितिले पूर्णता पाएसँगै अब विषयगत समितिमा नेकपा एमालेले तीन र राष्ट्रिय जनमोर्चाले एक समितिमा सभापतिको नेतृत्व गरेका छन्। प्रदेश सभाको कार्यकाल सकिने बेला विषयगत समितिलाई पूर्णता दिइएको छ।  

गत वर्ष साउन २८ गते सरकार परिवर्तन भएसँगै नेतृत्वविहीन बनेको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित हुनुभएको छ। सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा वैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गीता थापा चयन हुनुभएको छ। 

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी निर्वाचित हुनुभएको छ। सो समितिको सदस्यहरूमा थानकुमारी थापा चापागाई, भगवती देवी भण्डारी, दीपेन्द्रकुमार अधिकारी, तुलसी चौधरी, लीला गिरी, युवराज खनाल भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मो. याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर र निर्मला मुडवरी भट्टराई रहनुभएको छ। 

कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जल्पा भुसाल तथा सदस्यहरूमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल अष्टभुजा पाठक, रुद्रावती शर्मा, दीपेन्द्रकुमार पुन मगर र लौटी थारू रहनुभएको छ।

सामाजिक विकास समितिको सभापतिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको संसद् सचिवालयले जानकारी दिएको छ। समितिको सदस्यहरूमा कमलादेवी विक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान वज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली र दीपा विक रहनुभएको छ।

प्रदेश सभामा एक सिट मात्र रहेको राष्ट्रिय जनमोर्चाकी तारा जीसीलाई अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति बनाउन सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो। प्रदेश सभा समितिको नेतृत्वका लागि एकल उम्मेदवारी परेपछि उहाँहरू निर्विरोध हुनुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो।