• ४ साउन २०८१, शुक्रबार

भृकुटीमण्डपको आगलागीमा शङ्कास्पद गतिविधि : प्रतिवेदन

blog

राधा चालिसे

काठमाडौँ, साउन १३ गते । काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत असार २९ गते आगलागी हुनुमा केही शङ्कास्पद गतिविधि भएको छानबिनको क्रममा पाइएको छ। आगलागीसम्बन्धी छानबिन गर्न गठित समितिले सो समयमा भएका शङ्कास्पद गतिविधि देखिएको उल्लेख गर्दै बिहीबार परिषद्समक्ष प्रतिवेदन बुझाएको छ। 

समितिले तयार पारेको प्रतिवेदन परिषद्का अध्यक्षसमेत रहनुभएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमक्ष पेस गरिने समितिका सदस्य कानुनविद् राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आगलागीको छानबिन गर्दा केही शङ्कास्पद गतिविधिसमेत भएको देखिएकाले सो समेत स्पष्ट रूपमा उल्लेख गरेर प्रतिवेदन बुझाएका छौँ।”

समितिका संयोजक परिषद्का सञ्चालक समिति सदस्य शम्भुजङ्ग राणा हुनुहुन्थ्यो भने अर्का सदस्यमा विभागीय प्रमुख सञ्जयकुमार मल्लिक रहनुभएको थियो। परिषद्को गोदाम घरमा आगलागी हुनुलाई शङ्कास्पद रूपमा हेरिएको भन्ने विषयमा साउन १ गते गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो। आगलागीबाट परिषद्का निकै महत्त्वपूर्ण कागजात र विवरणहरू नष्ट भएका छन्। 

आगलागीमा स्थापना हुँदा अर्थात् २०४३ देखिका महत्त्वपूर्ण दस्तावेज, विभिन्न दातृ निकायसँग गरिएका सम्झौता र समझदारीका फाइल, विभिन्न ऐतिहासिक मठमन्दिरमा भएका सुनचाँदीका गरगहनाका विवरणयुक्त कागजात तथा ऐतिहासिक पुस्तक र फर्निचर जलेर नष्ट भएका छन्। 

ती दस्तावेज लैनचौरस्थित परिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र निवासका लागि लिइएपछि परिषद्को कार्यालय ललितपुरको पुल्चोकस्थित पुरानो बालपरिषद्को साँघुरो स्थानमा सार्नुपरेको थियो। २०७५ मङ्सिरमा परिषद्को कार्यालय त्यहाँ सार्दा सबै दस्तावेज त्यहाँ राख्ने ठाउँ नभएपछि केही समयका लागि भनेर भृकुटीमण्डपको सोही गोदाममा राखिएको थियो। 

केही समयका लागि भनेर तत्कालीन व्यवस्थापन गरिएका दस्तावेज तीन वर्षभन्दा बढी समय पनि स्थायी रूपमा सुरक्षित व्यवस्थापन भएन। जसका कारण आगलागी हुँदा ती ज्यादै महìवपूर्ण दस्तावेज जलेर नष्ट भए। 

आगलागी हुँदा परिषद्का दस्तावेज मात्र होइन त्यही गोदाममा राखिएका राष्ट्रिय अपाङ्ग कोषका अरू सामग्री पनि जलेर नष्ट भएका छन्। तिनमा कोषलाई विभिन्न दातृ निकायले सहयोगस्वरूप उपलब्ध गराएका अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्न राखिएका ह्विलचेयर, वाकर, कृत्रिम हात, खुट्टा, बेल्ट, सेतो छडीलगायतका अपाङ्गता सहयोगी सामग्री रहेका थिए।