• ११ वैशाख २०८१, मङ्गलबार

फुटबल विवाद उत्कर्षमा : एन्फामा तीन गुटको रस्‍साकस्‍सी

blog

काठमाडौं, आउन १२ गते । नेपाली खेलकुदमा सबैभन्दा बढी चलायमान संघ हो अखिल नेपाल फुटबल संघ (एन्फा) । अन्तर्राष्ट्रिय अनुदान, सरकार तथा निजी क्षेत्रको आर्थिक सहयोग पनि फुटबलमा ठूलो रहेको छ । 

प्रतियोगिता आयोजना र अन्तर्राष्ट्रिय सहभागिताको दृष्टिले फुटबल अग्रणी संघमा पर्दछ । वार्षिक करिब एक अर्ब रुपियाँ हाराहारी बजेट भएको एन्फा व्यक्तिगत स्वार्थ र राजनीतिक विवादले भने कहिल्यै मुक्त बन्न सकेको छैन । 

एन्फाको नयाँ नेतृत्वका लागि भएको निर्वाचन डेढ महिना पनि पुगेको छैन । गत असार ६ गते भएको निर्वाचनबाट पंकजविक्रम नेम्वाङ चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभयो । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेर अध्यक्ष बन्नुभएका नेम्वाङको चार वर्षे कार्यकालको सुरुवात सहज देखिएको छैन । 

निर्वाचनपछि एन्फामा पदाधिकारीबीचको गुटबन्दी र रश्साकस्सी बेजोडले मौलाएको छ । एन्फा पदाधिकारी अहिले तीन गुटमा विभाजन भएका छन् । २१ सदस्य  रहेकाे कार्यसमितिमा चार जना सदस्यको बराबरी मत आएका कारण दुई जना सदस्य चयन हुन बाँकी छ । तर, अध्यक्षसहित १९ जना निर्वाचित पदाधिकारी तीन गुटमा विभाजित छन् । जसले गर्दा एन्फाको नियमित बैठकसमेत बस्न गरेको छैन । 

अध्यक्ष नेम्वाङ अल्पमतमा 

निर्वाचनमा बहुमत पाएर निर्वाचित हुनुभएका अध्यक्ष नेम्वाङ एन्फा कार्यसमिति भित्र अल्पमतमा पर्नुभएको छ । हाल १९ सदस्यीय पदाधिकारीमा नेम्वाङको पक्षमा उहाँ स्वयं र उपाध्यक्ष दावा लामा गरेर दुई जना पदाधिकारी छन् । 

एन्फा निर्वाचनपछि पदबहाली गरेको पहिलो दिन नै एन्फा विदेश विभाग प्रमुखमा विदेशी नागरिक नवीन पाँडे, महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्ति गरेपछि नेम्वाङ समूहलाई जिताउन निर्वाचनमा ठूलो सहयोग गरेको पूर्वअध्यक्ष गणेश थापा समूह रुष्ट बनेको छ । 


थापा समूहले चुनाव जिताउन सहयोग गरेका साथीको भावना र एन्फाको विधान विपरीत विदेशी नागरिक पाँडेलाई विदेश विभाग प्रमुखमा नियुक्त गरेपछि तीन उपाध्यक्षसहित १० पदाधिकारी रहेको थापा समूह रुष्ट बनेको हो । निर्वाचनअघि पूर्व अध्यक्ष गणेश थापा (फिफाबाट १० वर्ष प्रतिबन्धित)का छोरा गौरवलाई महासचिव वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने शर्तमा नेम्वाङले थापा समूहको सहयोग लिनु भएको थापा समूहको भनाइ छ । 

यस्तै निर्वाचनका पराजित भएको शेर्पा समूहले पनि अध्यक्ष नेम्वाङको कार्यशैलीको विरोध गरेको छ । शेर्पा समूह अहिले पर्ख र हेरको अवस्थामा छ । शेर्पा समूहमा उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) सहित सात पदाधिकारी छन् । 

‘पहिलो बैठकमै फुटबलको हितका लागि निर्णय भएन । हामीले पदबहालीको दिन खासै के होला र भन्ने ठानेका थियौं । तर, फुटबल विकासमा दीर्घकालीन असर पर्ने निर्णय गर्दा कम्तीमा छलफल हुनुपर्थ्याे । विधि र विधान विपरितका निर्णयलाई हामीले मान्ने कुरै भएन,’ उपाध्यक्ष केसी भन्नुहुन्छ । केसीले एन्फालाई आर्थिक भार पर्ने र गैर कानुनी निर्णय आफूलाई मान्य नहुने पनि बताउनुभयो । 

यसरी मौलायो गुट 

एन्फाको नेतृत्व २१ वर्ष गणेश थापाले सम्हाल्नुभयाे । गणेश थापाको एकल (गुट) धार हुँदै आएको एन्फामा अहिले थापा, शेर्पा र नेम्वाङको तीन गुट छ । आर्थिक भष्टाचार गरको आरोपमा विश्व फुटबल महासंघ (फिफा) बाट २०७२ साल कार्तिकमा थापालाई १० वर्षे प्रतिबन्धसहित २० हजार स्वीस फ्रयांक (करिब २१ लाख रुपियाँ) जरिवानाको कारबाही गर्यो । 

त्यसपछि थापा फुटबलबाट अलग हुनुभयाे। एन्फाको बाँकी एक वर्षे कार्यकालका लागि निर्वाचन भयो । अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ र तत्कालीन उपाध्यक्षबीचको प्रतिस्पर्धामा श्रेष्ठ विजयी हुनुभयो । थापाको कार्यशैलीप्रति विरोध गर्दै आउनुभएका शेर्पा यस अघिल्लो निर्वाचनमा भने भारी मतले विजयी हुनुभयो । 

निर्वाचनमा शेर्पाले गणेश थापाका साला मणि कुवँरलाई पराजित गर्नुभएको थियो । शेर्पालाई जिताउन अहिलेका अध्यक्ष नेम्वाङलगायत क्लब र जिल्ला प्रतिनिधिको ठूलो सहयोग थियो । एन्फामा थापाको गुट कायमै थियो । शेर्पा अध्यक्ष भएपछि शेर्पा र निवर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङको छुट्टाछुट्टै गुट बन्यो । शेर्पा अध्यक्ष भएको पहिलो वर्ष देखिनै नेम्वाङ समूहले एन्फामा फरक धार खडा गरेको थियो ।

एन्फाको एउटै कार्यसमिति सत्तापक्ष र प्रतिपक्षको रुपमा बाँडिएको थियो । त्यतिबेला नेम्वाङ समूह अल्पमतमा थियो । अघिल्लो कार्यकालका कतिपय निर्णयमा शेर्पाले नेम्वाङलाई वेवास्था गर्दै निर्णय गर्नुभयो । त्यसैले यसपटकको निर्वाचनमा थापा समूहको सहयोग पाएर नेम्वाङ अध्यक्ष बन्नुभयो । शेर्पा समूहको विरोध गरेका कारण नेम्वाङलाई निर्वाचनमा थापा समूहको सहयोगले अहिलेको अध्यक्षको बाटो खोलेको थियो । 


यसअघि नेतृत्वलाई निरन्तर प्रहार गर्दै आउनुभएका नेम्वाङ अहिले आफै नेतृत्वमा पुग्नुभएको छ । दुई जना सदस्यका लागि एन्फाको विशेष साधारण सभा बोलाउनु पर्ने अवस्था छ । तर, नेम्वाङले कार्यसमिति बैठकनै बोलाउन सक्नुभएको छैन । यसअघि बोलाइएको बैठक दुई पटक स्थगित भइसकेको छ । नेम्वाङले बैठक लम्ब्याउँदै लग्नुभएको छ । 

पछिल्लो पटक साउन ५ गतेका लागि बोलाइएको बैठक विवादका कारणबीचमै रोकियो । नेम्वाङ बैठक चलिरहेको समयमा बीचमा नै उठेर हिँडेपछि एन्फाको बैठक स्थगित भएको थियो । उक्त बैठको एजेन्डामा पदाधिकारीको नियुक्ति लगायत १२ बुँदे एजेन्डा थिए । 

एन्फाका महासचिव एवं प्रवक्ता किरण राईले फुटबल विकासका लागि गुट बन्नु र छलफल हुनु स्वभाविक भएको बताउनुभयो । "जीवन्त संस्थामा छलफल हुनु, राम्रा कामका लागि गुट बन्नु ठूलो कुरा होइन । सबैले फुटबलकै हितका लागि आआफ्नो कुरा गर्नुभएको हो । निर्वाचनमा जाँदा सहयोग लिने र दिने कुरा स्वभाविक हो । सबै मिलेर फुटबलको विकास बारे सोच्नुको विकल्प छैन," राईले भन्नुभयो । उहाँले अध्यक्ष नेम्वाङकै अनुरोधमा एन्फा बैठक स्थगित भएकोले छिट्टै बोलाइने पनि बताउनुभयो ।

एन्फामा को कता ? 

निर्वाचनपछि बनेको एन्फाको तीन गुटमा अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दावा लामा मात्र देखिनुभएको छ । थापा गुटमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडा, सदस्य अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, महेन्द्र क्षेत्रीथापा र सरिला श्रेष्ठ हुनुहुन्छ । 

यसैगरी शेर्पा गुटमा उपाध्यक्ष केसीसहित सदस्य मनिष जोशी, पेमा डोल्मा लामा, भरत बुढथापा, मणिराज विष्ट, टीकाराम लामा र रमेश ब्यञ्जनकार हुनुहुन्छ । निर्वाचनमा सदस्यका चार उम्मेदवार दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेकोले विशेष साधारण सभाबाट दुई जना निर्वाचित हुन बाँकी छ । तर, नेम्वाङ कार्यसमितिमा अल्पमतमा परेपछि बैठकमा एजेन्डा प्रस्तुत र निर्णय गर्न गाह्रो छ । त्यसैले उहाँले पदबहालीको पहिलो बैठकमै एजेन्डा बिनै महासचिव, विदेश विभाग प्रमुख तथा कोषाध्यक्ष नियुक्ति गरेको थापा र शेर्पा पक्षको भनाइ छ । 

यसअघि शेर्पासँग मिलेर ‘चेन्ज एन्फा’ अभियान चलाउनुभएका नेम्वाङले निर्वाचनमा ‘चेन्ज कर्मा’ अभियान चलाउनु भएको थियो । कर्मालाई ‘चेन्ज’ गर्न सफल नेम्वाङलाई एन्फा बैठक चलाउनै कठिन पर्ने देखिएको छ ।  


पाँडेलाई हटाउन निवेदन

एन्फा विदेश विभाग प्रमुख नवीन पाँडेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायतले एन्फामा निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई मुख्य पदमा नियुक्त गरेको उहाँहरुको आरोप छ । पाँडे जर्मन नागरिक हुनुहुन्छ । 

‘एन्फाको २०७९ जेठ ८ गते अध्यक्ष नेम्वाङको अध्यक्षतामा बसेको (नियम पूरा नगरी बोलाइएको) पहिलो बैठकको निर्णय नम्बर १ मै अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक पाँडेलाई नियुक्त गरिएको छ । यो निर्णय त्रुटिपूर्ण र एन्फा विधान विपरीत छ,’  पत्रमा भनिएको छ । 

एन्फाको विधानको धारा २४ को ३ (क) मा नेपाली नागरिक भएमा एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन नसक्ने उल्लेख भएको पत्रमा जानकारी गराइएको छ। पत्रमा भनिएको छ, ‘तसर्थ एन्फाले गरेको पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले सदस्यलाई झुक्याएर बैठकमा पाँडेको नाम पेश गरेर पास गराइएकाले सो निर्णयलाई सच्याउन आग्रहसमेत गरिएको छ । पत्रमा पाँडेलाई एन्फा विधानको धारा ३८ (६) बमोजिम वर्खास्ती गर्न मागसमेत  गरिएको छ ।’

गौरवको फरक विज्ञप्ति 

विवादबीच एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने चर्चा चलिरहेका बेला गणेश थापाका छोरा गौरव थापाले आफूले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताउनुभएको छ । थापाले प्रेस विज्ञप्ति जारी गर्दै आफूले पदका लागि दबाब नदिएको तर वर्तमान अध्यक्ष (पंकजविक्रम नेम्वाङ) र महासचिव (किरण राई)ले सहयोगको लागि आग्रह गरेको बताउनुभएको छ ।

विज्ञप्तिमा थापाले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई अमान्य हुने कुनै पनि भूमिका नचाहेको स्पष्ट पार्नुभएको छ । "फिफा र एएफसीलाई अमान्य हुने मैले एन्फामा कुनै पनि भूमिका खोजेको छैन । पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । अध्यक्ष र महासचिवले नै सहयोग गर्न भनेर मेरो नाम प्रस्ताव गर्नुभएको हो",  गौरव थापाले भन्नुभएको छ। 


गौरवले विज्ञप्तिमा नेपाली फुटबल बिनास चाहनेले आफूविरुद्ध षड्यन्त्र गरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, "नेपाली फुटबलको विनास चाहने एउटा समूहले संगठित रुपमा गरिरहेको षडयन्त्र दूर्भाग्यपूर्ण छ । म फुटबलको एउटा व्यावसायिक व्यक्ति हुँ र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन ।"