साहारा लिम्बू
फुङलिङ, मङ्सिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ फाइनलमा प्रवेश गरेको हो ।
फुङलिङका लागि दोश्रो हाल्फको ११औँ मिनेटमा समीक्षा मगरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । त्यस्तै खेलको इन्जुरी समयमा पुन मगरले नै दोश्रो गोल थप्दै २–० को जित निकाल्न सफल भएको हो । फुङलिङ चार जना राष्ट्रिय खेलाडीको साथमा मैदान उत्रिएको थियो । मैवाखोलासँग पालिका भित्रका खेलाडी मात्र रहेका थिए ।
बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङदेन गाउँपालिकाबिच प्रतिष्पर्धा हुँदैछ । यो खेलको विजेताले फाइनलमा फुङलिङ नगरपालिकासँगको भेट पक्का गर्ने छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार ८२ रुपियाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।