• १८ मङ्सिर २०८२, बिहिबार

क्रियाशील सदस्यता फाराम पठाउँदै कांग्रेस

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर १८ गते । नेपाली कांग्रेसले देशका सबै क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन थालेको छ । १५ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले पार्टीका क्षेत्रीय कार्यसमिति सभापतिमार्फत सबै वडा, पालिका र नगरसम्म क्रियाशील सदस्यता फाराम पठाउन थालेको हो । 

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले मङ्सिर १९ गतेसम्ममा सबै क्षेत्रमा फाराम पु¥याउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार नवीकरणको स्थिति गर्ने र नयाँ क्रियाशील सदस्यता वितरण कार्य तीव्र बनाउने गरी तयारी थालिएको छ । 

कांग्रेस महामन्त्री एवं समितिका संयोजक गगनकुमार थापाले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएसँगै आधारभूत काममा तीव्रता दिइने बताउनुभयो । साथै समितिले क्रियाशील सदस्यता वितरण कार्य प्रभावकारी बनाउनका लागि भ्रातृ र शुभेच्छुक संस्थासहितको बैठक शुक्रबार आह्वान गरेको छ । 

कांग्रेस उम्मेदवार बन्न मापदण्ड

नेपाली कांग्रेसले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्न मातहतका कार्यसमितिलाई परिपत्र गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार माघ ११ गतेको राष्ट्रिय सभा सदस्य र फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गरिएको हो । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्रमा विधानतः योग्यता पुगेको व्यक्ति सिफारिस गर्न भनिएको छ । पत्रमा जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसङ्गतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने प्रस्ट पारिएको छ । कांग्रेसले २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्ति फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन नपाउने प्रस्ट पारेको छ । 

साथै प्रदेश सभा सदस्य २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न नपाइने परिपत्रमा उल्लेख छ । कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस गर्न नपाइने जानकारी दिएको छ ।