• ४ साउन २०८१, शुक्रबार

वीर अस्पतालको १३३ औं वार्षिकोत्सव

कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

blog

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रासस

काठमाडौं, साउन १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।


वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘केही मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैल्दै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्णरुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।’’


क्यान्सर जस्ता घातक रोगहरुको समयमै सहज ढङ्गले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।

‘‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य सङ्गठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका बिरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताउनुभयो ।

स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकअन्तर्गत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ, नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन कटिबद्ध । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।’’

त्यस्तै, उहाँले विसं. २०७२ सालको महाभूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले आफ्नो पेशाप्रति इमान्दार रही परिवार तथा ज्यानको समेत पर्वाह नगरी बिरामीहरूको स्वास्थ्योपचारका लागि गर्नुभएको अमूल्य सेवा र सहयोगका लागि समग्र अस्पताल परिवारलाई प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाई देश भित्रबाट मात्र नभई विदेशबाट समेत उपचारमा आउने बिरामीहरूको सुविधाका लागि ९६० शैयासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्नसकेकोमा अस्पतालका पदाधिकारीहरूलाई समेत बधाई  दिनुभएको छ ।

यसैगरी, प्रधानमन्त्री देउवाले भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको प्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । साथै, यसलाई प्राथमिकता साथ अघि बढाउन  सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढङ्गले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरे पनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुहुँदै वीर अस्पताल व्यवस्थापनको आलोचना गर्नुभयो ।

वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने औंल्याउनुभयो ।

यसैगरी, वीर अस्पतालका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाईं धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले पुराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको आवश्यकता रहेको बताउनुभयो ।