• ७ वैशाख २०८१, शुक्रबार

तुलसीपुरको सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण

blog

काठमाडौं, साउन १२ गते । राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनुभयो ।

उहाँले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवकोटाले भन्नुभयो, ‘घोराही तुलसीपुरको फोर लेन सडक अहिले पनि सुचारु भएको छैन । भारतीय कम्पनी र भारतीय ठेकेदारलाई दिएको, थपिएको म्याद पनि सकिन लाग्दा त्यो निर्माण हुन सकेको छैन ।’’

सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधीन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको सांसद देवकोटाको भनाइ छ ।

सांसद नन्दा चपाईंले सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यतिबेला सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको छ । त्यहाँका जनताले वर्षातको समयमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् ।’’ उहाँले सो क्षेत्रको अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिन सकार समक्ष माग गर्नुभयो ।

यसैगरी, सांसद सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताउनुभयो । सवारीसाधन चल्न नसक्दा राजस्व सङ्कलनमा समेत प्रभाव परेको उहाँको भनाइ छ ।

‘‘केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरुमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएको कारण यातायात आवतजावत गर्न एकदम कठिनाइ परिराखेको छ ।,’’ उहाँले भन्नुभयो,  ‘‘राजस्व सङ्कलनमा समेत प्रभाव परेको छ । दैनिक साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपियाँ मात्र सङ्कलन हुन गइरराखेको छ ।’’