• १० मंसिर २०८१, सोमबार

ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन राष्ट्रपति बाइडेनको आग्रह

blog

वासिङटन, साउन १२  गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’’

बुधबार उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताउनुभएको छ । राष्ट्रपति बाइडेनले भन्नुभयो, ‘‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म सङ्क्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।’’

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताउनुभएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताउनुभएको हो ।

यसबाट बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि आग्रह गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका हुनुहुन्छ । उहाँलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताइएको थियो । उहाँले आफूलाई सामान्य लक्षण मात्र देखिएको बताउनुभएको थियो । उहाँ एकहप्तापछि बुधबार मात्र आइसोलेसनबाट निस्किनुभएको हो ।

कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् । (रासस/सिन्ह्वा)