राजु लामिछाने
रुकुमपश्चिम, वैशाख १७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो इतिहास भएका दलबिचको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा रुकुमपश्चिमले मुसीकोटमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पुराना दलहरुबिचको सहकार्यलाई बढाएर संविधान, गणतन्त्रको रक्षाका लागि नेतृत्व गर्ने र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई थप स्थापित गर्न पहल गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा संयोजक प्रचण्डले सिङ्गो कम्युनिष्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको समेत बताउनुभयो । मुलुकमा बृहत कम्युनिष्ट सुदृढीकरणको आवश्यकता रहेको औँल्याउनु हुँदै उहाँले त्यसका लागि अबको विकल्प सबै कम्युनिष्ट घटकहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।
यसका साथै उहाँले नेकपाले अब युवाहरूलाई विशेष प्राथमिकता दिने बताउनुभयो । वडादेखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन हुने र प्रत्येक कमिटीमा ५० प्रतिशत युवा र नव युवाको प्रतिनिधित्व रहने उहाँले उल्लेख गर्नुभयो ।
प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक रहेको पनि बताउनुभयो । निर्वाचनको परिणामको अध्ययन र अनुसन्धान अझै गहिरो रुपमा हुनुपर्ने बताउँनु हुँदै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको करिब दुई तिहाइको मतलाई आफूहरूले स्वीकार गरेको बताउनुभयो ।
संयोजक प्रचण्डले आफ्नो पार्टीले सरकारले गर्ने राम्रा कामको समर्थन र नराम्रा काममा आलोचना गर्ने तथा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । सरकारले वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्थापन नगरी गरिब तथा निमुखामाथि बल प्रयोग गर्नु गलत भएको उहाँको भनाइ छ ।
आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व जानुअघि पार्टीले आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक प्रचण्डले रुकुमपूर्व र रुकुमपश्चिमको विकासका लागि आफू निर्वाचित भएपछि पहल सुरु गरिसकेको बताउनुभयो ।