गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट सङ्घबिच भाडा सम्झौता छिट्टै हुने प्रस्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि र क्यानबिच सम्झौताको म्याद सकिएकाले पुनः सम्झौता गर्न लागेको बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका पोखरेलले त्रिवि उपकुलपति, रेक्टर, रजिस्ट्रारसँग सकारात्मक कुरा भएकाले नयाँ सम्झौता हुने जानकारी दिनुभयो । “मेरो बिहान त्रिविका उपकुलपति, रजिस्ट्रार, रेक्टरसहितका पदाधिकारीसँग भेट भएको थियो । सकारात्मक कुरा भएको छ । त्रिवि मैदान खाली गर्न खोजिएको होइन,” उहाँले भन्नुभयो, “लिज सकिएकाले फेरि सम्झौता गर्नुपर्ने भएको छ । त्यसमा सकारात्मक कुराकानी भएको छ । त्यसमा कुनै समस्या छैन, सम्झौता हुन्छ ।” राज्यले त्रिवि क्रिकेट मैदान धेरै खर्च गरेर बनाएकाले कसैले नभत्काउने उहाँले बताउनुभयो ।
मन्त्री पोखरेलले एक महिनामा सरकारले योजनाबमोजिम काम गरेको प्रस्ट पार्नुभयो । सरकारलाई मतदाताले समेत निगरानी गरेकाले सुधार गर्नुपर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । मन्त्री पोखरेलले भन्सार नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।