• १६ चैत २०८०, शुक्रबार

माटोको उर्वराशक्ति जोगाउन दौडाहा अभियान

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ११ गते । संसारभरीको माटोमा भएको उर्वराशक्तिमा ह्रास आएको भन्दै बचाउन ‘माटो जोगाऔं’ अभियान लिएर देश दौडाहा कार्यक्रम सुरु भएको छ । गत जेठ महिनाको ३० गते काठमाडौंबाट सुरु भएको अभियान लिएर यसमा सहभागी युवाहरु म्याग्दीको सदरमुकाम बेनी आइपुगेका छन् । 

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको कार्यालयमा पत्रकारसँग अन्तरक्रिया तथा भेटघाटमा माटो जोगाऔं अभियानका अभियन्ताले यसबारे जानकारी गराउनुभएको थियो । अबको ६० वर्षपछि संसारको माटोमा कुनै पनि अन्नको उत्पादन हुन नसक्ने दावी गर्दै माटोको उर्वराशक्ति कायम राख्न अहिलेदेखि नै सबै क्षेत्रबाट माटो जोगाउन आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।  

अभियानबारे जानकारी गराउँदै माटो जोगाऔं अभियानका अभियन्ता नवीन पुनले अबको ६० वर्षपछि माटोले आफ्नो उत्पादन दिन नसक्ने बताउनुभयो । उहाँले माटो सबैको भगवान् र मुटु भएकाले सबैले माटोलाई जोगाउन लाग्नुपर्ने बताउनुभयो । संसारका सबै जीवित प्राणीहरु माटोविना बाँच्न नसक्ने हुँदा माटोको संरक्षण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । 

अभियन्ता पुनले माटोको अर्गानिक कन्टेन्ट जोगाउन नसके खतरा उत्पन्न हुने चेतावनी दिँदै स्वतस्फूर्त माटो जोगाऔं अभियान लिएर देश दौडाहामा निस्किएको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असर कम गर्न, हावा तथा पानीमाथिको प्रदूषण न्यूनीकरणका लागि माटोलाई जोगाउनुपर्ने उहाँको भनाइ छ । 

अध्ययनअनुसार अहिले नेपालको माटोको उर्वराशक्ति १ दशमलव ८ प्रतिशत, भारतको शुन्य दशमलव ०५ र अमेरिकाको माटोमा शुन्य दशमलव ०२ प्रतिशत रहेको तथ्याङ्कमा देखिन्छ । अभियानले राष्ट्रका नेतृत्वकर्तालाई खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनेतर्फ राष्ट्रिय नीति बनाउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।