• ११ वैशाख २०८३, शुक्रबार

बन्यो भवन, सञ्चालनमा आएन अस्पताल

blog

वालिङ समाचारदाता

वालिङ (स्याङ्जा), वैशाख ११ गते । स्याङ्जाको वालिङमा सुविधासम्पन्न अस्पताल भवन निर्माण भएको एक वर्ष पूरा भएर हालसम्म पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण एक वर्षअघि नै सम्पन्न भएको हो । 

वालिङ नगरपालिका–१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणको काम सम्पन्न भएको र नगरपालिकाले अस्पताललाई सञ्चालनमा ल्याउन छलफल गरिरहेको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । 

अस्पताल भवनमार्फत सेवा प्रवाह जति सक्दो छिटो सुरु गर्न आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण जडान, सेवा सञ्चालनको विधि तथा बजेट व्यवस्थापनका विषयमा छलफल गरिएको सङ्घीय सांसद झविलाल डुम्रेले जानकारी दिनुभयो ।  सबैको सहकार्यमा छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाई अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । 

सङ्घ तथा प्रदेशसँगको सहकार्यलाई तीव्रता दिँदै अस्पताल सञ्चालनमा ल्याउने पालिकाको तयारी छ । करिब १३ करोड रुपियाँको लागतमा निर्माण गर्न २०७८ असार ८ गते सम्झौता गरेको थियो ।