नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख ११ गते । बागलुङ नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा २१ वटा निवेदन दर्ता भएका छन् ।
दर्ता भएका निवेदनमध्ये १५ वटा विवाद मेलमिलापमार्फत समाधान भएका छन् भने २ वटा विवादमा फैसला गरिएको छ । त्यस्तै १ विवाद अदालत गएको, १ निवेदन फिर्ता भएको र ३ वटा विवाद तामेलीमा रहेका छन् । गत आर्थिक वर्षबाट ८ वटा निवेदन सरेका थिए । हाल ७ वटा विवाद फछ्र्यौट हुन बाँकी रहेको र ती विषयमा कारबाही प्रक्रिया अगाडि बढिरहेको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।
निवेदनको प्रकृतिअनुसार रुख–बिरुवा हटाउने सम्बन्धी ६ निवेदनमध्ये ५ वटा समाधान भएका छन् । घरजग्गाको सिमाना विवाद सम्बन्धी २ वटै निवेदन फछ्र्यौट भएका छन् भने कुटपिट, लुटपाट तथा गाली–बेइज्जती सम्बन्धी २ वटै विवाद समाधान भएका छन् । महिला तथा बालबालिका सम्बन्धी ३ निवेदनमध्ये २ वटा टुंगिएका छन् भने घरभाडासम्बन्धी २ निवेदनमध्ये १ वटा समाधान भएको छ । अन्य ५ निवेदनमध्ये ४ वटा फछ्र्यौट भएका छन् ।
यस अवधिमा ३२ वटा मेलमिलाप हुन सक्ने विवादमा सहजीकरण गरिएको पनि समितिले जनाएको छ । नेपालको संविधान २०७२ को धारा २१७ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार न्यायिक समितिले यस्ता विवादहरू हेर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरूप सकेसम्म मेलमिलापमार्फत विवाद समाधान गर्ने अभ्यासलाई प्राथमिकता दिइएको जनाइएको छ ।
बागलुङ नगरपालिकाको न्यायिक समितिमा हाल ३० जना महिला र ४१ जना पुरुष गरी कुल ७१ जना सूचीकृत मेलमिलापकर्ताहरू सक्रिय रहेका छन् ।