• ११ मंसिर २०८१, मङ्गलबार

अर्गानिक मलको प्रेरणाको स्रोत सन्तोष

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, साउन ११ गते ।  रासायनिक मल प्रयोगले मात्र बढी उत्पादन दिने सोचाइलाई गलत साबित गरेको छ । रासायनिक मलको वैकल्पिक अर्गानिक मल बनाएर प्रयोग गरिरहनुभएको रुपनी गाउँपालिकाका सन्तोषकुमार यादवलाई उत्पादन पनि अत्यधिक भइरहेको छ । उहाँ अर्गानिक मल प्रयोग र उत्पादनका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । 

रासायनिक मलबाट मात्र उत्पादन दिने बुझाइलाई चिर्न आफ्नै १० कठ्ठा जग्गामा अर्गानिक मल प्रयोग गरी तरकारी खेती गर्नुभएको सन्तोषको तरकारी खेतीको सफलता र आम्दानी देखेर छरछिमेकका किसान पनि यस्तै खेती गर्न थालेका छन् । 

वैदेशिक रोजगारीमा सात वर्षसम्म रोजगार गरी मलेसियाबाट फर्किएर सात कठ्ठामा तीतो करेला र बोडी, लौका, घिरौँला, भान्टा, खुर्सानी एक–एक कठ्ठामा गर्नुभएको छ ।

जेटीए अध्ययन गर्नुभएको उहाँले वैदेशिक रोजगारीबाट फर्किएलगतै होटल खोल्नुभएको थियो । लकडाउनका कारण होटल बन्द हुँदा लगानी पनि असुल नभएपछि पछिल्लो एक वर्षयता देखि अर्गानिक तरकारी खेती गर्न सुरु गर्नुभएको हो । मल, कीटनाशक औषधि, भिटामिन सबै अर्गानिक नै प्रयोग गर्नुहुन्छ । मल, औषधि, बीउविजन, मजदुरसहित तरकारी खेतीमा ४५ हजार रुपियाँ खर्च भएको जानकारी दिनुहँुदै उहाँले भन्नुभयो, “तरकारीबाट खर्च काटेर औसतमा ६० हजार महिनाको आम्दानी भइरहेको छ ।” 

अहिलेसम्ममा प्रतिकिलो २५ देखि ८० रुपियाँको दरमा ८० क्विन्टल करेला बिक्री गरिसकेको उहाँ भन्नुहुन्छ, “दिनहुँ करेला उत्पादन भइरहेको छ, टिपेर बेच्न भ्याइ–नभ्याई छ । टिपेर थोक मूल्यमै खुद्रा व्यापारीलाई बेच्ने गरेको छु ।” तीन दाजुभाइ, श्रीमती, आमा र तीनजना मजदुरको नियमित मिहिनेतले तरकारी खेतीमा पाएको सफलता देखेर वीरेन्द्र बजार बस्तीका अन्य किसान पनि खेतीसम्बन्धी जानकारी लिन आउन गरेका छन् । 

तरकारी खेतीमा अर्गानिक मल्टिनियम, कन्ट्रोलर नामक भिटामिन, मल्टिभ्याक्स, एनमिके कीटनाशक तथा गोबर, अन्नपूर्ण, बायोपावर मिसाएर तयार गरिएको मल प्रयोगले रासायनिक मलको खेतीभन्दा कैयौँ गुणा बढी उत्पादन हुने गरेको छ । उत्पादित तरकारी स्वस्थकर रहेको उहाँको कथन छ । र, कीरा फट्याङ्ग्रालाई नियन्त्रण गर्न एलोट्र्याप राखेर ठड्याइएको छ । पोथी गन्ध भएको दुवैतिर लस्सा र पहेँलो रङको भएको जसलाई एलोट्र्याप भनिएको छ । त्यसमा कीरा–फट्याङ्ग्रा आकर्षित भएर बस्दा टाँसिएर मर्ने गरेकाले करेलासहित तरकारीको लहरा (बिरुवा)उपर दर्जनौँ एलोट्र्याप राखिएको छ । यसले बिरुवामा कीरा–फट्याङ्ग्रा लाग्न नदिने गरेको छ । एलोट्र्याप नै अर्गानिक खेतीको पहिचान भएको उहाँले भन्नुभयो ।

यस्तै बिरुवालाई विभिन्न तत्त्वका  लागि एक सय लिटर पानीमा एक किलो सख्खर र एक लिटर वेस्टडी कम्पोजर (ओडब्लूसीडी) मिसाएर सात दिन कुहिएपछि जरामा राखेर वा स्प्रे गरेर दिने गरेको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यहाँ बजार व्यवस्थापन छैन । बजार खोजी गरेर बेच्नुपरेको छ ।” अर्गानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न सम्बन्धित निकायबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको गुनासो गर्दै उहाँले भन्नुभयो, “मलाई कुनै सहयोग चाहिएन, मैले गरेको तरकारी खेतीको कम्तीमा एक पटक निरीक्षण गरिदिनूस् भनेर कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख, गाउँपालिकाका प्रमुख, गाउँपालिकास्थित कृषि केन्द्रका प्रमुखलाई भनियो तर कसैले वास्ता गर्नुभएन ।”