• १३ साउन २०८१, आइतबार

स्वपहिचान बनाउँदै महिला

blog

बिन्दु थापा 

तानसेन, साउन ११ गते । तानसेन–४ की सीता बस्नेतलाई कुनै बेला घरबाहिरको कामप्रति कुनै हेक्का थिएन। घरबाहिर जान पनि श्रीमान्को अनुमति लिनुपर्ने अवस्था थियो तर अहिले भने उहाँ पाल्पा लायन्स क्लबको अध्यक्षका रूपमा समाज सेवामा सक्रिय हुनुहुन्छ। 

बस्नेत भन्नुहुन्छ, “पहिला त म घरबाहिर निस्कन डराउँथेँ, घरपरिवार र समाजले केही कुरा काट्ने हुन् कि भन्ने डर लाग्थ्यो तर अहिले त्यस्तो केही लाग्दैन ।” लायन्स क्लबमा प्रवेश गरेपछि सीताजस्तै धेरै महिलाको जीवनमा परिवर्तन आएको छ। “लायन्स क्लबले सञ्चालन गरेका तालिम तथा गोष्ठीमा सहभागी भएपछि महिलाको जीवनमा परिवर्तन आएको छ ।”

पहिला घरपरिवारको साइनो लगाएर परिचय दिन बाध्य सीतालाई अहिले सबैले अध्यक्षको नामले बोलाउने गर्छन् । उहाँ भन्नुहुन्छ, “आफ्नै पहिचानले चिनिन पाउँदा काम गर्ने जोस–जाँगर बढेर आउँदो रहेछ ।” 

क्लबमा सहभागी भएपछि सीतालाई स्थानीय संरचना बुझ्नुपर्छ र महिलाले त्यसको हिसाबकिताब खोज्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उहाँले स्थानीय तहको चुनाव लड्ने आँट गर्नुभयो। 

उहाँ अहिले तानसेन नगरपालिका–४ को वडा सदस्य हुनुहुन्छ । पुरुषको तुलनामा महिला नेत्रीको काम छिटोछरितो, पारदर्शी हुने अनुभव स्थानीयको छ। तानसेन नगरपालिका–३, टक्सार टोलकी रञ्जना थापा अर्याल पनि सीताजस्तै एक अब्बल नारीमा गनिनुभएको छ। 

कुनै समय चुलोचौकोमा सीमित रञ्जनालाई महिलाले पनि स्थानीय संरचनामा भाग लिन पाउँछन् भन्ने थाहा थिएन । त्यस बेलाको कथा सुनाउँदै अर्याल भन्नुहुन्छ, “हामी त सधैँ घरको काममा हुन्थ्यौँ, महिला भएर बाहिर निस्कन हुँदैन भन्ने लाग्थ्यो ।” 

लायन्स क्लबले आयोजना गर्ने कार्यक्रममा सहभागी भएपछि महिला अधिकारका कुरादेखि स्थानीयस्तरमा हुने हरेक संरचना, नेतृत्व विकास र सामाजिक सेवाबारे थाहा पाएको उहाँ बताउनुहुन्छ। 

रणउजेश्वरी लायन्स क्लबको निवर्तमान अध्यक्ष अर्याल स्थानीय ग्रिन हिल होटलको सञ्चालक पनि हुनुहुन्छ। सामान्य गृहिणीबाट समाज सेवाका अतिरिक्त राजनीति र आर्थिक गतिविधिमा महिलाको सक्रियता 

बढ्दै गएको छ। उहाँले भन्नुभयो, “कुनै बेला ए फलानोकी श्रीमती भनेर बोलाउनेहरू अहिले लायन रञ्जना भनेर नमस्कार गर्छन् । फलानाकी बुहारी, श्रीमती भनेर चिन्ने समाजले अध्यक्षज्यू, होटल सञ्चालक भन्दा खुसी नै लाग्छ ।”

पुरुषवादी सोचमा बिस्तारै परिवर्तन भइरहेको तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिजालीको भनाइ छ । महिला घरबाहिर निस्कन हुँदैन भन्ने सोचमा परिवर्तन आएसँगै महिला सक्षम र आत्मनिर्भर बन्न थालेका हुन्। 

पाल्पाका कतिपय महिला अहिले व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर बन्न अग्रसर देखिन्छन्। कतिले विभिन्न उद्योग खोलेका छन्। “महिलाको सहभागितामा साँच्चिकै धेरै परिवर्तन भएको छ,” शिक्षक विमल कार्कीले भन्नुभयो। 

पहिले–पहिले आफ्नो नाम भन्नसमेत डराउने र घरबाहिर जान श्रीमान् तथा परिवारको अनुमति लिने महिला अहिले भने राजनीतिक नेतृत्वका लागि दौडधुप गर्नुका साथै स्थानीय संरचनाका कामको हिसाबकिताब खोज्न सक्षम बनेका छन्।