रमेश विश्वकर्मा
गुल्मी, वैशाख ४ गते। गुल्मीमा ६२ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
यस जिल्लाको सत्यवती गाउँपालिकाका –४ का २३ वर्षीय आशिष ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पक्राउ परेका ज्ञवालीले सोही गाउँपालिकाका ६२ वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी) गंगाबहादुर सारुका अनुसार ज्ञवालीले वैशाख १ गते साँझ ५ः०० बजेको समयमा नदेवा क्षेत्रमा जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीलाई जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर विकको कमान्डमा टोली खटिएको थियो।
पक्राउ परेका निजलाई सोही दिन राती नै जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको थियो। पीडितको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परीक्षण गराइएको छ।
पीडितबाट जाहेरी प्राप्त भइसकेको र आरोपितलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय गुल्मीले जनाएको छ।