• २ असार २०८१, आइतबार

फोहोर व्यवस्थापन : ‘शून्य फोहोर अवधारणा’कार्यान्वयन गरौँ

blog

फाइल तस्बिर

काठमाडौं, साउन १० गते । फोहोरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहोर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहोरको वर्गीकरण गर्न थालिसकेको छ ।

नगरपालिकाले फोहोर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहोर, हरियोमा प्लाष्टिकजन्य फोहोर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहोर व्यवस्थापन गर्ने तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ ।

चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले फोहोरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको जानकारी दिनुभयो । यो अवधारणाले स्थानीय स्तरमा उत्पादन भएका फोहोरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

“साउन महिनाभरि नगवासीले बानी पार्नेछन् र यस समयमा दण्ड जरिवाना गरिँदैन, अगामी भदौ १ गतेदेखि अनिवार्यरूपमा सार्वजनिक तालिकाअनुसार व्यवस्थापनको काम नभए कारबाहीस्वरुप जरिवाना गर्ने तयारी नगरपालिकाको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थानको काम पेचिलो बन्दै गएपछि नगरपालिकाले उक्त अभ्यासलाई कार्यान्वयनमा उतारेको हो । सकेसम्म उत्पादन भएको स्थानमा फोहोरको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको देखिन्छ ।

स्थान पहिचन गर्दै कामपा
उपत्यकाको काठमाडौं महानगरपालिकादेखि अन्य स्थानीय तहसम्मलाई अहिले फोहोर व्यवस्थापन गर्न निकै कठिन परिरहेको छ । यस्तो समस्या पटक–पटक आइरहने जनाउँदै सम्बन्धित सबै स्थानीय तहले फोहोर व्यवस्थापन उत्पादन भएको स्थानमा नै गर्नुपर्ने पहल थालेका छन् ।

कामपाले उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाको प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । यसका लागि कम्तीमा पनि ५० रोपनी जग्गा आवश्यक पर्छ । स्थान प्राप्त भएसँगै उपत्यकाको कुहिने फोहोर यही नै व्वस्थापन हुने र नकुहिने फोहोर मात्र बञ्चरेडाँडा लाने योजनामा कामपा छ ।

कामपाले पनि फोहरको थप व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहोर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसको छ ।

पुनः थुप्रन थाल्यो सडकमा फोहोर
अहिले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम भइरहेकाले केही दिनदेखि उपत्यकाको सडकमा फोहोर थुप्रन थालेको छ । सामान्यतया अन्य समयमा भन्दा बर्खाको समयमा फोहोर बढी उत्पादन हुने गर्छ । यही समयमा हप्ता दिनसम्म फोहोर व्यवस्थापन हुन नसक्नु थप समस्याको विषय हो ।

यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले व्यवस्थापन गर्न समस्या भएको हो । उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । सडक मर्मतको काम सकेसँगै फोहोर नियमितरूपमा व्यवस्थापन हुने कामपाले बताएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आ–आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।