जीवछ यादव
लहान, वैशाख ३ गते । सिराहाको धार्मिक पर्यटकीय स्थलमध्ये लहान नगरपालिका-१८, पकडियागढ र लक्ष्मीपुरपतारी-३, पतारी पोखरीमा वैशाख २ गते भक्तजनकाे ठुलो घुइँचो लागेको थियो ।
वैशाख १ गते भारतको विभिन्न प्रान्तबाट र नेपालका अन्य जिल्लाबाट आएका भक्तजनहरू सलहेस फूलबारीको मेला सकेर पकडियागढ र पतारीपोखरीतर्फ लागेका थिए । लहान नगरपालिकाको लहान मुख्यचोकबाट आठ किलोमिटर उत्तरमा पकडियागढ पर्दछ भने १० किलोमिटर पश्चिम दक्षिणमा पतारीपोखरी रहेको छ । यी दुबै ठाउँमा परापूर्वकालदेखि नै धार्मिक मेला लाग्दैआएका छन् ।
चार दिन अगाडि नै भारत विहारका विभिन्न जिल्लाबाट हजारौंको सङ्ख्यामा आएका भक्तजनहरू सलहेस फूलबारीमा वैशाख १ गतेको सलहेसको पूजापाठ गरी दर्शन गरेर वैशाख २ गते बिहान पकडियागढ पुगेर १२ बजेतिर पतारीपोखरी हुँदै घरतर्फ फर्किने गर्दछ । यसवर्ष विगत वर्षको तुलनामा भक्तजनको सङ्ख्या उल्लेखनीय थियो ।
पकडियागढ र सलहेस
पकडियागढको राजा कसलेश्वरको सिंह दुनुवारको राज्यमा सलहेस चौकीदारको रूपमा थियो । दरबारमा रहेका सयौ चौकीदारमध्ये सलहेस प्रथम थिए । पहलवानी कुस्तीमा सलहेसलाई कसैले पनि हराउन सकेका थिएनन् । राजा कुलेश्वरको छारी चन्द्रवतीप्रति मोहित भएर चुहरमल मोहित भएर चोरी गरेर गङ्गा नदी किनारमा रहेको मुकामा अपहरणको शैलीमा लगेको जनश्रुति रहेको छ ।
यो कुरा प्रतिनिधिसभा सदस्य स्वर्गीय नथुनीसिंह दुनुवारले लेख्नु भएको लोक नायक सलहेस पुस्तकमा उल्लेख छ । त्यस पुस्तकमा उल्लेख भए अनुसार राजाको छोरीलाई चुहरमलबाट मुक्त गराउनुको साथै चुहरमललाई पक्रेर राजाको दरबारमा हाजिर गराउने सलहेस पकडियागढमा फैलिएको आराजकताको अन्त्य गरी न्याय दिलाउने पराक्रमी योद्धा सलहेसलाई लोकनायक बन्ने अवसर पकडियागढ राज्यमा प्राप्त भएको थियो ।
अहिले पकडियागढमा भाकल गरेपछि मनोकामना पूरा हुने र न्याय प्राप्ति हुने अगाध विश्वासको कारण वैशाख २ गते लाखौंको सङ्ख्यामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । लहानको मुख्य चोकबाट सलहेस सर्किट अन्तर्गत पिच सडक निर्माण पकडियागढमा चन्द्रवती मन्दिर धर्मशाला निर्माण कार्य गर्न मधेश प्रदेश सरकार र लहान नगरपालिकाको सयोगमा सम्पन्न भएकाले भक्तजनको घुइँचो बर्सेनि बढ्दै गइरहेको लहान नगरपालिका वडा १८ का वडाध्यक्ष मोहम्मद शमशेरले जानकारी गराउनुभयो ।
उहाँको अनुसार यस वर्ष तुलनात्मक रूपमा मौसमले साथ दिएपछि भक्तजनको घुइँचो उल्लेखनीय रहयो । बाह्रै महिना पर्यटक भित्र्याउने कार्यका लागि प्रचार–प्रसार थप व्यवस्थापनमा लागेको उहाँले प्रष्ट पार्नुभयो ।
पतारीपोखरी मेला
कर्णाटक वंशको प्रतापी राजा सिमरौन गढको राजा हरिसिंह देवको स्थान पतारी पोखरीको दक्षिणी डिलमा अवस्थित छ । प्रत्येक वर्ष वैशाख १ र २ गतेको शुभमुहुर्तमा श्रद्धालु भक्तजनको भाकल अनुसार पूजापाठ गर्ने परम्परा रहेको छ । सबैभन्दा महत्त्वपूर्ण पूजा फूलहाइस र पोखरीमा गोहरियाले डुबुल्की लगाइ प्राप्त गरेको माछा, सर्प, गङ्गोटीको जन्तर बनाइ आशीर्वाद लिने गर्दछ ।
नयाँ वर्ष वैशाख १ गतेको रात्रिमा राजाहरिसिंह देवको गहवरमा पूजारीले गर्ने पूजालाई नै फूलहाइस भनिन्छ । सन्तान नहुने महिलाले पतारी पोखरीमा डुबुल्की लगाएपछि गहवरमा फूलहाइसको प्रसादी लिएर गएपछि सन्तान सुःख प्राप्ती हुने गरेको जनविश्वासले पतारीपोखरीमा भारतीय भक्तजनहरूको घुइँचो उल्लेखनीय सङ्ख्यामा मेलामा रहने गर्दछ ।
मधेश प्रदेश सरकार र लक्ष्मीपुरपतारी गाउँपालिकाले पोखरीको सौन्दर्यीकरण र हरिसिंहदेवको मन्दिर निर्माणमा करोडौ लगानी गरिएको लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले बताउनुभयो । यस वर्ष सलहेस फूलबारी पतारीपोखरी यस धार्मिक पर्यटकीय स्थलमा सिराहा १ र २ का प्रतिनिधिसभा सदस्यहरू क्रमशः बब्लु गुप्ता र शिव शङकर यादव आफै मेला अवलोकन गर्नुभयो ।
उहाँहरूले विश्वास व्यक्त गर्नुभयो, ‘‘धार्मिक पर्यटन क्षेत्रको रूपमा रहेको सलहेससँग जोडिएको सलहेस फूलबारी, पकडियागढ, मानिकदह र सिराहाको मैसोथा, भगवान्पुरको बालासुन्दरी लगायतको पर्यटकीयस्थलले बाह्रै महिना पर्यटकीय भित्र्याउने गरी सङघीय सरकारको अगुवाइ प्रदेश र स्थानीय सरकारको सक्रिय पहलकदमी लिइने गरी वातावरण बनाउने छौं ।