• ३ साउन २०८१, बिहिबार

पाहुनाको सत्कारमा स्यार्बो, थार र सेन नाच

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन १० गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा अतिथिहरूका लागि स्यार्बो, थार र सेन नाच निकै चर्चित छ। लिमीको परम्परागत उक्त नाच पाहुनाको स्वागत सत्कार गर्न अनिवार्य रूपमा नाच्ने चलन हो। लिमीका बासिन्दा कुन्चोक तामाङले लिमीका तीनवटै गाउँ जाङ, हल्जी र तीलमा गाउँदै नाचिने स्यार्बो, थार र सेन नाच अहिलेको समयमा पनि स्थानीयवासीले उत्तिकै संरक्षण गरेर राखेको बताउनुभयो। 

गाउँ भित्रने वरिष्ठ लामादेखि अन्य उच्च ओहदाका अथितिको स्वागत सत्कार गीत र यही नाचबाटै हुने गर्छ। तिब्बती भाषामा गाइने तीन गीतमध्ये स्यार्बो नाच केटा र केटी मिलेर गाउँदै नाचिन्छ भने थार केटा र सेन केटीले गाउने गर्छन्। अतिथिको स्वागत सत्कार गर्नुका साथै गीतमार्फत सुखदुःख सोध्ने कार्य पनि नाच र गीतकै माध्यमबाट हुने गरेको छ। पहिला स्थानीय कलाकार ती गीत गाई नाच्ने गर्छन्। त्यसपछि पाहुना पनि नाचमा सामेल हुनुपर्ने प्रचलन छ। पाहुनालाई घरघरमा नलगी सामुदायिक भवनमा राखेर भान्सादेखि राति सुत्नेसम्मको व्यवस्था गरिन्छ। 

तिब्बती भाषा नबुझ्नेका लागि नेपाली भाषामा उल्था गर्ने व्यवस्था पनि गरिएको हुन्छ। यो नाचलाई अहिलेको आधुनिकताले समेत कुनै असर पार्न सकेको छैन। यस्तो नाचमा घरका एक जना सहभागी हुनैपर्ने चलन छ। गीत र नाचको माध्यमबाट पाहुनाले मनोरञ्जन लिनुुका साथै लिमी संस्कृति र परम्पराका बारेमा समेत जानकारी लिन्छन्। नाचमा सहभागी हुने कलाकारले लिमीका परम्परागत पहिरन लगाउँछन्।