• ३ साउन २०८१, बिहिबार

सीसीटीभी फुटेज प्रकरण प्रहरीले बुझायो प्रतिवेदन

blog

काठमाडौँ, साउन १० गते  । नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसम्बन्धी प्रतिवेदन बुझाएको छ। 

अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको फुटेज डिलिट भइसकेको भन्दै समितिलाई रेकर्डिङ सिष्टम नै बुझाएको थियो। उक्त डिभाइस रिकभरका लागि समितिले साउन ४ गते ल्याबमा पठाएको थियो। समिति सचिव सुरेन्द्र अर्यालले उक्त प्रतिवेदन प्राप्त भएको बताउनुभयो। सिलबन्दी रूपमा प्राप्त प्रतिवेदन मङ्गलबार बिहान बस्ने समिति बैठकमा खोलिनेछ। राजनीतिक नेतृत्व र कर्मचारीको बयानमा कुनै ठोस तथ्य फेला नपारेको समितिले फुटेजको निष्कर्षमा आधारित भएर थप अनुसन्धान बढाउने तयारीमा छ।

 समितिले पहिलो बैठकबाटै मन्त्रालयसँग जेठ १४ गते बजेट तर्जुमा कक्षको फुटेज मागेको थियो। दुई पटकसम्मको ताकेतामा अर्थले समितिलाई अन्य महिनाको फुटेजमात्र दिएको थियो। पुनः ताकेतापछि सीसीटीभी सम्बद्ध सबै सिष्टम नै समितिलाई उपलब्ध गराएको हो। डिभाइस प्राप्त भएपछि समितिले विषयविज्ञसँग परामर्श गरेर निर्णय गरेको हो। आइतबार समितिले सिंहदरबारका दुई मूल प्रवेशद्वारको फुटेजसमेत माग गरेको थियो। 

समितिले छानबिनक्रममा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्करसँग जानकारी लिइसकेको छ। यस्तै अर्थ मन्त्रालयका बजेट महाशाखा, प्रशासन महाशाखाका प्रमुखसँग पनि छलफल गरिसकेको छ। असार २८ गतेबाट कार्य प्रारम्भ गरेको समितिको पहिलो दस दिनको समय सकिइसकेको छ। थप भएको एक साताको समय पनि चार दिनमात्र बाँकी छ।