• १ वैशाख २०८३, मङ्गलबार

बाँकेमा गहुँ काट्न सुरु, किसानलाई बाली भित्र्याउने चटारो

blog

नेपालगञ्ज–२२ पुरैनीका कृषक राजकुमार पासीको गहुँमा थ्रेसर लगाइँदै। तस्बिर : लक्ष्मी तिमिल्सेना

लक्ष्मी तिमिल्सेना
जमुनाह, वैशाख १ गते ।
बाँकेका किसानहरूलाई यतिबेला गहुँबाली भित्र्याउने चटारो छ। खेतबारीमा किसानहरू गहुँ काट्ने र थ्रेसरमार्फत दाना छुट्याउने काममा व्यस्त देखिन्छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका स्थानीय कृषक राजकुमार पासीले गहुँ काटेर थ्रेसरसमेत लगाइसक्नुभएको छ। केही दिनअघिको वर्षाले गहुँ स्याहार्न ढिलाइ भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अस्तिको पानीले गहुँ काट्न ढिलाइ भयो। केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कहिले बादल लाग्छ त कहिले हावाहुरीसँगै पानी पर्ने जस्तो हुन्छ। त्यसैले गहुँबाली छिटो भित्र्याउनुपर्ने छ।”

राजकुमारले श्रीराम कम्पनीको गहुँखेती गर्नुभएको छ। यो जातको बीउ उहाँले रुपैडिहाबाट ल्याउनुभएको हो। उहाँले भन्नुभयो, “यो जात राम्रो फल्छ। यहाँ अरूले विजय गहुँ पनि लगाउँछन्, त्यो पनि राम्रो फल्छ भन्छन्। त्यो सबै पारीकै जात हो।”

अर्का कृषक शोभाराम यादवले लगाउनुभएको गोलो दाना भएको कुन्दन जातको बीउ पनि रुपैडिहाबाटै ल्याइएको हो। उहाँले ६ विगाहा जमिनमा गहुँखेती गर्दै आउनुभएको छ। उहाँले पनि गहुँ काट्न सुरु गरिसक्नुभएको छ भने दाइँ र भित्र्याउने काम बाँकी छ।

कृषि ज्ञान केन्द्र बाँकेले यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरेको छ। यद्यपि प्राकृतिक प्रकोपको जोखिम अझै रहेको जनाएको छ। केन्द्रले किसानलाई आधुनिक उपकरणको प्रयोग गरी छिटो र सुरक्षित रूपमा बाली भित्र्याउन आग्रह गरेको छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि–अर्थ विज्ञ डा। विनोद घिमिरेका अनुसार यस वर्ष मौसम अनुकूल रहेकाले गहुँ उत्पादन बढ्ने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, “हाल हामी उत्पादनको तथ्यांक संकलन गरिरहेका छौँ।”

बाँकेमा यस वर्ष करिब २१ हजार पाँच सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ।

प्रविधिले किसानलाई थप सहजता
बदलिँदो समयसँगै कृषिक्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै काम गर्न सहज भएको किसानहरू बताउँछन्। आधुनिक उपकरणको प्रयोगले गहुँ दाइँ र भित्र्याउने काम पहिलेभन्दा छिटो र सजिलो भएको छ।

थ्रेसर प्रविधि आउनुअघि ११ कठ्ठामा लगाइएको गहुँ दाउन ३–४ दिन लाग्ने गरेको कृषक राजकुमार पासी बताउनुहुन्छ। तर अहिले थ्रेसर प्रयोग गर्दा २०–२५ मिनेटमै दाइँ सम्पन्न हुने उहाँको अनुभव छ। उहाँले भन्नुभयो, “पहिले ३–४ दिन लाग्ने काम अहिले एक घण्टाभित्र सकिन्छ। पहिले खलियानमा गोरु र राँगाले दाइँ गर्नुपर्थ्यो।”

शोभाराम यादवका अनुसार पहिले गहुँ स्याहार्न धेरै समय र श्रम लाग्थ्यो। उहाँले भन्नुभयो, “चैतको अन्तिममा काटेको गहुँ असारसम्म दाइँ गरिन्थ्यो, अहिले ३–४ घण्टामै सकिन्छ।”

विगतमा परम्परागत तरिकाले गरिने खेतीमा धेरै मेहनत, समय र श्रम लाग्ने गथ्र्यो। तर पछिल्ला वर्षमा कृषि प्रविधिको विकासले ठूलो परिवर्तन ल्याएको छ। ट्याक्टर, थ्रेसर र कटाइ मेसिनजस्ता उपकरणले थोरै समयमा धेरै काम गर्न सम्भव भएको छ।