• ३ साउन २०८१, बिहिबार

नजाने गाउँको बाटो सोध्नु किन ?

blog

दुई वर्षअघि संसार कोभिड–१९ को महामारीसँग जुध्दै थियो । नेपाल पनि त्यस सङ्क्रामक रोगबाट अछुतो थिएन । त्यसैताका सङ्क्रामक रोग फैलिएजसरी नै सामाजिक सञ्जालमा एउटा फोटो छरपस्ट भयो अर्थात् ‘भाइरल’ भयो । ‘भाइरल’ भएको फोटो कुनै विदेशी उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक जनाले नेपाली भूमिमा पाइला राख्दै गर्दा नेपाल आमालाई शिर निहुराएर ढोग्दै गरेको थियो । त्यस्ता फोेटा अरू पनि आउने गर्छन् । तिनको अर्थ र सन्देश गहिरो छ । ‘भाइरल’ सामाजिक सञ्जालको विशिष्ट शब्द हो । 

‘भाइरल’ जस्तै सामाजिक सञ्जालमा अरू पनि थुप्रै शब्द छन् । ती ‘भाइरल’ हुँदै गर्दा सामाजिक सञ्जालको भाषाका प्राविधिक शब्द बन्दैछन् । कुनै पनि भाषाका शब्द वा पदावली व्यावहारिक प्रयोगका उपज हुन्छन् । व्यावहारिक प्रयोगमा खारिँदा तिनीहरू जीवन्त बन्छन् । जीवनको अर्थ पनि कठिन परीक्षामा खोज्न भाषाले सिकाउँछ । कठिन अवस्थामा धैर्य नगुमाउने सफल बन्छ ।

व्यवहार बनावटी हुँदैन । बनावटी भयो भने त ढोँग बन्छ, व्यवहार हुँदैन । सकारात्मक वा नकारात्मक नतिजा जेसुकै आए पनि व्यवहारमा ढोँग फिटिक्कै हुनुहुँदैन । अनि मात्र व्यवहार ‘भाइरल’ हुन्छ र जीवन्त पनि । विदेशबाट फर्केका ती मानिसले आफू ‘भाइरल’ हुनका लागि ढोँगी ढोँग गरेका थिएनन् । 

मान्छे परिस्थितिको दास हुन्छ । विदेश जानु उनको रहर थिएन, बाध्यता थियो । उनीजस्ता बाध्यतामा पिल्सिएका धेरै छन् । परिस्थितिको दास हुँदा पनि मान्छेले विवेक र धैर्य गुमाउँदैन । मातृभूमिप्रतिको सम्मान उसको मनमस्तिष्कमा रहन्छ । त्यसले राष्ट्रियताको अमूर्त कलालाई आकार दिन्छ । फोटोले दिएको सन्देश त्यही हो । 

नेपाली भाषामा उखान र टुक्काको प्रचलन व्यापक छ । लोकजीवनमा व्यावहारिक प्रयोगबाट परिष्कृत तिनको प्रयोगले भाषालाई मिठास मात्र दिँदैन, जीवनयापनका लागि सही बाटो पनि देखाउँछन् । तीमध्ये एउटा चाहिँ बाटो नदेखाउने छ । बाटो नदेखाउने मात्र पनि होइन, बाटै नसोध्न पनि भन्छ नजाने गाउँ, ठाउँ र देशको पनि । भन्छ– नजाने गाउँको बाटै नसोध्नू । यसले हाम्रा पाइलालाई सही मार्गमा लाग्न मात्र प्रेरित गर्छ । हाम्रा पाइला विवेकबाट चल्नुपर्छ ।

त्रेतायुगमा राम र रामको सेनाले लङ्का जितेपछि लङ्काको वैभव देखेर लक्ष्मणको मनमा लङ्काको राजा बन्ने लोभ जाग्यो । उनले दाजु रामलाई आफ्नो मनको कुरा सुनाए तर रामले भाइलाई भने– 

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।

अर्थात्, हे लक्ष्मण सुनजस्तो लङ्का मलाई प्रिय लाग्दैन किनकि आमा र मातृभूमि स्वर्गभन्दा पनि गरिमामय छन् । उनको आशय स्पष्ट थियो– लोभ लालचमा नपरौँ, हाम्रो जन्मभूमि अयोध्या नै फर्कौं ।

रामायणमा वर्णित यस श्लोकलाई राष्ट्रियताको भावनाको स्रोत मानिन्छ । त्यसैले यस श्लोकको पछिल्लो पङ्तिलाई नेपालको निशाना छापको मूल मन्त्र मानिएको छ । पछिल्लो पटक लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेत नेपालको नक्सामा समेटेर संसद्ले जारी गरेको नेपालको नक्सा राखिएको निशाना छापमा पनि स्पष्ट लेखिएको छ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।’

रामायणमा नै लेखिएको अर्को श्लोक पनि पाइन्छ–

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।

अर्थात् मित्र, धन, अनाज आदिको संसारमा उच्च सम्मान गरिन्छ तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि गरिमामय छ । यस्तो आदर्श वाक्यको सिर्जना केन्द्र बनेको श्रीलङ्का अहिले राष्ट्रघातको पीडाबाट गुज्रिइरहेको छ । अहिले त्यही स्वर्णमयी लङ्का अर्थात् श्रीलङ्का सामाजिक सञ्जालमा मात्र होइन, संसारभर नै मूलधारका सञ्चारमाध्यममा ‘भाइरल’ छ । स्वाभाविक रूपमा नेपाल त्यसमा नपर्ने कुरै भएन । ‘भाइरल’ श्रीलङ्काको नेपाली पाटो भने नेपाल पनि श्रीलङ्काको बाटोमा जाने कि नजाने भन्नेमा केन्द्रित छ । 

श्रीलङ्का अहिले अभूतपूर्व आर्थिक र राजनीतिक सङ्कटले ग्रस्त छ । सन् १९८३ देखि २००९ सम्म गृहयुद्धमा रहेको श्रीलङ्का गृहयुद्धताका पनि आर्थिक रूपमा समृद्ध थियो । बहुसङ्ख्यक सिंहल समुदाय र त्यसैको प्रतिनिधित्व रहने सरकारबाट श्रीलङ्काका अल्पसङ्ख्यक तमिल र अन्य समुदायको अधिकार कुण्ठित गरिएको भनी गृहयुद्ध सुरु भएको थियो । तमिल विद्रोही समूह लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई)बाट भएको गृहयुद्ध उक्त समूहका नेता भेल्लुपिल्लाई प्रभाकरणलाई श्रीलङ्काको सरकारी सेनाले हत्या गरेपछि अन्त्य भएको थियो । 

गृहयुद्ध अन्त्यका लागि भएको सरकारी अभियानको नेतृत्वमा राष्ट्रपति महिन्दा राजपाक्षे रहेका थिए भने रक्षा मन्त्रालयमा प्रशासनिक नेतृत्वमा महिन्दाका भाइ गोटावाया राजपाक्षे रहेका थिए । यी दुई तीन दशकदेखिको गृहयुद्ध अन्त्यका लागि ‘हिरो’ मानिए । त्यसैका भरमा महिन्दा सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति बनिरहे । आफू पदमा रहन नमिल्ने संवैधानिक बाध्यतापछि गोटावाया राष्ट्रपति र महिन्दा प्रधानमन्त्री रहे । यसबीचमा यी दुई मात्र होइन, राजपाक्षे परिवारका धेरैले राजनीतिक र प्रशासनिक नेतृत्व लिए । 

गृहयुद्धको समाप्तिपछि महिन्दाको नेतृत्वमा श्रीलङ्काले उन्नति नगरेको पनि होइन । सन् २००९ मा ३.५ प्रतिशत रहेको आर्थिक वृद्धि सन् २०१० मा ८.० प्रतिशत, २०११ मा ८.४ प्रतिशत र सन् २०१२ मा ९.१ प्रतिशत रह्यो तर यो वृद्धि गैरव्यापार क्षेत्रको भएकाले टिक्न सकेन । सन् २०१३ देखि ओरालो लाग्न थालेको आर्थिक वृद्धि सन् २०२० मा त ४.४ प्रतिशतले ऋणात्मक रह्यो । यो भनेको विश्व कोभिड–१९ ले थलिएको बेला थियो । अर्थतन्त्रको एक मात्र सूचक आर्थिक वृद्धि नभए पनि यसले श्रीलङ्काको खस्कँदो आर्थिक परिदृश्यलाई देखाउँछ । त्यसबीचमा श्रीङ्काले लिएको अधिक बाह्य ऋण र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबले श्रीलङ्कालाई टाट पल्टिएको घोषणा गर्न बाध्य बनायो । 

हाल श्रीलङ्काको वैदेशिक ऋण ५१ अर्ब डलर (करिब ६५ खर्ब रुपियाँ) रहेको छ भने विदेशी मुद्रा सञ्चिति एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब २४ अर्ब रुपियाँ), व्यापार घाटा तीन अर्ब ५३ करोड डलर (चार खर्ब ५१ अर्ब रुपियाँ) र समग्र मुद्रास्फीति ४५.३ प्रतिशत रहेको छ । 

यी आर्थिक परिसूचक मात्र होइन, अहिले श्रीलङ्कामा इन्धनको चरम अभाव छ । औषधि छैन, विद्यार्थीले परीक्षा दिन कागज छैन, सरकारी कर्मचारीलाई विदेशमा काम गर्न अनुमति दिइएको छ । आजित श्रीलङ्काली जनताले विद्रोह गरे सुरुमा प्रधानमन्त्री महिन्दा राजपाक्षे पद छाडेर भाग्नुप-यो भने गत साता मात्र राष्ट्रपति गोटावाया राजपाक्षे देश नै छाडेर मालदिभ्स हुँदै सिङ्गापुर भाग्नुप-यो । श्रीलङ्काका हिरो अहिले जिरोमा परिणत भए । कोही कर्तव्यच्युत हुँदा इतिहास कति क्रुर अक्षरमा लेखिन्छ भन्ने यो गतिलो उदाहरण हो ।

श्रीलङ्काको यो दुरवस्थालाई नेपालमा पनि तुलना गरेर नेपाल पनि श्रीलङ्काकै बाटोमा जान लागेको भनी चिन्ता गर्ने गरिएको छ । विशेषगरी राजनीतिक दाउपेचमा रमाउनेले त श्रीलङ्काको बाटोमा गइसकेको प्रचारबाजी गर्ने गरेका छन् तर त्यसका लागि आर्थिक र अन्य परिसूचक स्पष्ट देखाउन भने सकेका छैनन् । त्यसको विपरीत श्रीलङ्काको बाटोमा नरहेको भनी दाबी गर्दा पनि यथेष्ट आधार भने दिने गरिएको छैन । 

नेपालको आर्थिक परिसूचक साँच्चिकै राम्रा रहेको भन्ने पनि होइन तर श्रीलङ्काको वर्तमान अवस्थाभन्दा निकै सबल भने रहेको छ । साढे सात महिनाको आयात धान्ने गरी विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब रुपियाँ रहेको छ भने विप्रेषण आप्रवाह नौ खर्ब चार अर्ब रुपियाँ रहेको छ । वैदेशिक ऋण १८ खर्ब ५५ अर्ब रुपियाँ छ । यी सूचक राम्रा नभए पनि त्यति खराब नै भने होइनन् । यसले नेपाल श्रीलङ्काकै बाटोमा रहेको नदेखाए पनि अगाडिको बाटो सहज छैन भन्ने स्पष्ट पार्छ ।

श्रीलङ्काको खराब स्थितिका लागि राजनीतिक नेतृत्व जिम्मेवार रहेको छ । त्यसले गर्दा त्यहाँका संस्थाहरू क्रमशः कमजोर पारिएका थिए । राजनीतिमा परिवारवाद हावी गराएर श्रीलङ्काली धन विदेश लगेको भन्नेसमेत आरोप छ । यो आर्थिक अपराध मात्र होइन, देशप्रतिको घात हो । नेपालले यस्ता घटनाबाट पाठ सिक्नुपर्छ तर सबै देशमा एकै खालका खराब बाटा हुँदैनन् । 

नेपालको राजनीति पनि सही बाटोबाट गुज्रिइरहेको भने छैन । नेपाल श्रीलङ्काको बाटोमा रहेको छ भन्ने राजनीतिक वक्तव्यबाजीले त्यो बाटोबाट अन्त मोडिने सिफारिस पुर्जी दिने गरेको पाइँदैन । हरेक बाटाबाट सिंहदरबार पुगिन्छ भन्ने अभीष्ट साँध्ने गरी आउने वक्तव्यबाजीले भने श्रीलङ्कातिरै पुग्न सहयोग गर्छ ।

नेपालका लागि श्रीलङ्काको बाटोको प्रेरक पथ माथि उल्लेख गरेबमोजिम त्रेतायुगमा नै खुलेको हो । अहिलेको श्रीलङ्काको बाटोभन्दा त्यो बेलाको ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’को आदर्श वाक्य र नेपालको निशाना छापमा अङ्कित पथ प्रदर्शक सूक्ति सान्दर्भिक हुन्छ । त्यो पथबाट जाने हो भने नेपाल श्रीलङ्का होइन, समृद्धिका लागि नेपालका निकटतम छिमेकी चीन र भारतको जस्तै आर्थिक समृद्धि लक्षित हुनुपर्छ । यसो गर्दा अहिले ओड्ने गरिएका भारत र चीनका राजनीतिक मौसमी छाता भने परै बन्द गर्नु आवश्यक हुन्छ ।

श्रीलङ्काबाट नेपालले पक्कै पनि पाठ सिक्नै पर्दछ तर पाठ सिक्नका लागि त्यही बाटो लाग्नु पर्दैन । नेपालले पाठ सिक्ने भनेको श्रीलङ्का नजानका लागि नै हो । त्यसैले नजाने देशको बाटोको सोधखोज धेरै गरिरहनु आवश्यक हुन्न । सबै नेपाली, खासगरी राजनीति र अन्य क्षेत्रका पनि नेतृत्वमा बस्नेले निशाना छापको दुरुपयोग नहुने गरी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई ढोगेर भाइरल बनेका सच्चा राष्ट्रवादी नागरिकको चिन्तनको अनुसरण गरी व्यवहारमा उतारे नेपाल बन्न अन्त कतैका बाटाको सोधखोज गर्नु पर्दैन । 

नेपाललाई प्रकृतिले सबै दिएको छ । त्यसको व्यवस्थापन गर्ने राष्ट्रिय चिन्तन जागृत गर्न पनि श्रीलङ्का, चीन, भारत वा अरू कुनै देशको बाटो रोज्नु पर्दैन । नेपाल बुझ्न र बुझेको प्रमाणित गर्न हनुमानले छाती चिरेर देखाउनु पर्दैन । नेपाल खोस्रिएर राष्ट्रवादी चिन्तनको बीजारोपण गर्नु जरुरी छ ।