गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । एसियाली विकास बैङ्क (एडिबी) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो गत वर्ष २०२५ को ४.६ प्रतिशतभन्दा न्यून हो । एडिबीको एसियाली विकास परिदृश्य, अप्रिल २०२६ मा त्यस्तो प्रक्षेपण गरिएको हो ।
‘गत वर्षको नागरिक अशान्तिलगायत राजनीतिक अनिश्चितता एवं पश्चिम एसियामा जारी द्वन्द्वको प्रतिकूलताका कारण सन् २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने’ नेपालका लागि एसियाली विकास बैङ्कका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभयो ।
राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउने भए पनि पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै रहेको उहाँको भनाइ छ ।
विद्यमान आघात कमजोर भएसँगै आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन सुदृढ भएर सन् २०२७ मा कुल गार्हस्थ उत्पादन वृद्धिदर मजबुत भई पाँच प्रतिशत पुग्ने प्रक्षेपण छ । यद्यपि, यो प्रक्षेपण असामान्य तीव्र अनिश्चयका बिच पश्चिम एसियाको द्वन्द्व छिट्टै स्थायित्वतर्फ रूपान्तरित हुने परिदृश्यको परिकल्पनामा फागुन २६ मा तयार पारिएको जनाइएको छ ।
उपभोक्ता मुद्रास्फीति दर करिब ३.७ प्रतिशत रहने र आन्तरिक आर्थिक गतिविधिमा सुधार एवं छिट्टै स्थायित्वको परिदृश्यमा आगामी सन् २०२७ मा थप वृद्धि भई ४.५ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
मध्यपूर्वको द्वन्द्वले नेपालको चालु खाता बचतमा भइरहेको विस्तारमा भने बाधा पु¥याउने छ । विप्रेषण आप्रवाह तथा निर्यातको वृद्धिदरमा कमीलगायतका कारण गत सन् २०२५ को ६.७ प्रतिशतको तुलनामा सन् २०२६ मा चालु खाता बचत जिडिपीको ७.२ प्रतिशत रहने छ ।
आप्रवासनमा अस्थायी रोकावट, इन्धनको मूल्यवृद्धिका कारण आयातको भुक्तानीमा वृद्धि र पर्यटनमा हुने नोक्सानीका कारण सन् २०२७ मा चालु खाता बचतमा आंशिक कमी आई जिडिपीको ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।