• २२ चैत २०८२, आइतबार

दोहोरो सूचनाले गौशाला बजार बन्द

blog

महोत्तरीको गौशाला नगरपालिका–५ स्थित मुख्य बजार क्षेत्रमा अतिक्रमण गरी पसलअगाडि बनाइएका टहरा, छाना, जस्ता र बोर्ड हटाइँदै गर्दा । तस्बिर : अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), चैत २२ गते ।
महोत्तरीको गौशाला बजार यतिबेला केवल किनबेचको केन्द्र मात्र नभई प्रशासनिक निर्णय र समन्वय अभावको प्रत्यक्ष उदाहरण बनेको छ । बजार व्यवस्थापनका लागि एउटै निकायअन्तर्गतका दुई फरक कार्यालयबाट जारी सूचनाले स्थानीय व्यापारीलाई अन्योलमा पार्दै बजारमा तनाव सिर्जना गरेको छ ।

शनिबार बिहान बजार क्षेत्रभित्र रहेका अतिक्रमित संरचना हटाउने क्रममा केही पसलमा तोडफोड भएपछि व्यापारी प्रत्यक्ष मारमा परेका छन् । व्यवसायीहरू भन्छन्, “हामी नियम पालना गर्न तयार छौँ, तर कुन नियम मान्ने भन्ने नै स्पष्ट छैन ।”

केही दिनअघि गौशाला नगरपालिका कार्यालय र वडा नं. ५ कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरेका थिए । वडा कार्यालयको चैत १७ गतेको सूचनाले सडक अतिक्रमण हटाएर सरसफाइ गर्न जोड दिएको थियो । त्यसको दुई दिनपछि नगरपालिकाले जारी गरेको अर्को सूचनामा पसलअगाडि बनाइएका टहरा, छाना, जस्ता र बोर्ड हटाउन निर्देशन दिइएको थियो ।

यति मात्र होइन, नगरपालिकाको सूचनामा पसलअगाडिको स्लाबसम्म सामान राख्न पाइने तर नालाभन्दा बाहिर राख्न नपाइने उल्लेख थियो । यी फरक–फरक व्याख्याले व्यापारीहरू कुन सीमासम्म संरचना राख्न मिल्छ र कुन हटाउनुपर्ने भन्ने विषयमा अन्योलमा परेका छन् ।

गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतोका अनुसार, “दुवै निकाय समन्वयमा रहेको भनिए पनि कार्यान्वयनमा स्पष्टता नहुँदा विवाद सिर्जना भयो ।”

आज बजारमा रहेको अतिक्रमण हटाउने क्रममा विवाद चर्किँदै जाँदा वडा नं. ५ का अध्यक्ष ओमप्रकाश गुप्ताले अनिश्चितकालीन बजार बन्दको घोषणा गर्नुभयो । उहाँका अनुसार अतिक्रमण हटाउने क्रममा समान व्यवहार नभएको र केही व्यापारीमाथि लक्षित रूपमा क्षति पुर्‍याइएको छ ।

“पूर्वसूचना बेवास्ता गर्दै केही संरचना तोडफोड गरियो, जसले व्यापारीमा आक्रोश बढायो,” उहाँले भन्नुभयो ।

यद्यपि बन्दको घोषणा गरिए पनि शनिबार दिउँसो बजार आंशिक रूपमा खुला रह्यो । यसले बाहिरबाट आएका सेवाग्राही थप समस्यामा परेका छन्—न त सेवा पूर्ण रूपमा उपलब्ध भयो, न त बन्दको स्पष्ट अवस्था रह्यो ।

यता नगरप्रमुख डा. दिपेन्द्र महतोले बजार बन्द समाधान नभएको बताउनुभयो । उहाँका अनुसार, “व्यवसायीहरू नगरपालिकामा आएर छलफलमार्फत समाधान खोज्नुपर्छ । बजार व्यवस्थापन सबैको सहकार्यबाट मात्र सम्भव हुन्छ ।”

उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतो पनि यसमा सहमत देखिनुहुन्छ । उहाँले भन्नुभयो, “सुधारको क्रममा केही समस्या आउन सक्छन्, तर त्यसलाई संवादबाट मिलाउनुपर्छ, बन्द गरेर होइन ।”

यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—विकासका नाममा समन्वयबिना अघि बढ्दा यस्तै द्वन्द्व दोहोरिने होइन ?

महोत्तरी क्षेत्र नं. १ का सांसद प्रमोदकुमार महतोले यसलाई दीर्घकालीन परिवर्तनको संकेतका रूपमा हेर्नुभएको छ । उहाँका अनुसार, “१५ वर्षपछि गौशाला बजार नयाँ स्वरूपमा जान खोज्दैछ । पुरानो संरचना भत्किँदा केही असहजता आउन सक्छ, तर समन्वय र संयमताले मात्रै दीर्घकालीन विकास सम्भव हुन्छ ।”

सांसद महतोले भन्नुभयो, “गौशालाको संरक्षणका लागि युवा पुस्ता अगाडि आएको छ । यसलाई हरेक पक्षको समर्थन आवश्यक छ । नगर युवा सञ्जाल र गौशाला नगरपालिकाले अगाडि बढाएको कदममा मेरो पूर्ण समर्थन छ । नयाँ संरचना निर्माणका क्रममा पुराना संरचना भत्किनु वा सामान्य टुटफुट हुन सक्छ, जसलाई व्यवस्थापन गर्दै हामी गौशाला विकासको पक्षमा अगाडि बढ्नुपर्छ ।”

स्थानीय बुद्धिजीवीहरूले पनि गौशाला बजारको यो घटनाले नीति मात्र पर्याप्त नहुने, स्पष्टता र समन्वय अझ आवश्यक रहने टिप्पणी गरेका छन् । एउटै बजारमा दुई फरक निर्देशनले समस्या ल्याएको हुँदा यसलाई मिलाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

नगरप्रमुख डा। महतोले थप भन्नुभयो, “समस्यामा परेका व्यवसायीको समस्या नगरपालिकाले समन्वय गरेर समाधान गर्नेछ । अनिवार्य रूपमा नालाको सीमाभित्र नै पसलका सामान राखेर व्यवसाय गर्नुपर्छ । समस्या समाधानका लागि मैले वडा अध्यक्षसँग समन्वय गरिरहेको छु । बजार विस्तारको क्रममा अवरोध नगरी सबैको साथ र सहयोग आवश्यक छ ।”