• २२ चैत २०८२, आइतबार

मान्मको धुलाम्मे सडक कालोपत्रे

blog

कालोपत्रे गरिएको सुनारखोला–मान्म अस्पताल सडक खण्ड । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत २२ गते ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्म खण्डमा पर्ने लामो समयदेखि धुलाम्मे सडक कालोपत्रे गरिएको छ । सडक सञ्चालनमा आएको लामो समयपछि उक्त धुलाम्मे सडक खण्ड कालोपत्रे गरिएपछि स्थानीयवासीलाई सहज भएको छ ।

सडकमा सधैँ धुलो उड्दा आसपासका बस्तीका नागरिकसमेत समस्यामा थिए । कर्णाली राजमार्ग निर्माण भएको छ वर्षमा एकपटक ओटासिल गरिएको भए पनि एकै वर्षात्को पानीले बगाएपछि त्यसयता मान्म खण्ड सधैँ धुलाम्मे रहँदै आएको थियो । यसपालि भने केही महिना टिक्ने गरी कालोपत्रे गरिएपछि सडक आसपास बसोबास गर्ने नागरिक खुसी भएका छन् ।

स्थानीय दीपक शाहीले झण्डै १३ वर्षपछि सडकको धुलोबाट मुक्ति पाएको बताउनुभयो । “सुरुमा सडक खनेको पाँच वर्षसम्म धुलोमै बसियो । २०६९ सालमा अलकत्रा हाल्दा केही महिना सहज भएको थियो । तर त्यही वर्षको वर्षात्को पानीले अलकत्रा बगाएपछि १३ वर्षसम्म सडकको धुलोले घरमा धोएका कपडासमेत सुकाउन सकिएन । बल्ल अहिले कालोपत्रे भएपछि ढुक्कसँग सुत्न पाइने भएको छ,” शाहीले भन्नुभयो ।

मान्म सडकको सेरीघाटदेखि बजारसम्मको क्षेत्र सधैँ जीर्ण थियो । अहिले भने सेरीघाटदेखि स्वास्थ्य सेवा कार्यालयसम्मको खण्ड कालोपत्रे गरिएको छ । अझै अस्पतालदेखि सशस्त्रको ब्यारेकसम्मको खण्डमा उस्तै धुलो उड्ने गरेको छ । त्यस आसपास बसोबास गर्नेहरू तलको कालो सडक हेरेर आफ्ना दुःख बिर्सने प्रयास गरिरहेका छन् ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले सडकको सुधार विस्तारै भइरहेको बताउनुभयो । “हामीले पनि केही सुझाव दिएका छौँ । सम्बन्धित कार्यालयले काममा तदारुकता देखाएकाले केही सुधार भइरहेको छ,” योगीले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारले समयमा काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता तोड्नेदेखि कालोसूचीमा राख्ने काम गत असारबाटै सुरु गरेकाले प्रदेशका विभिन्न कामले गति लिएको योगीको भनाइ छ ।

दुई हप्ता अगाडि सडक डिभिजन कार्यालय जुम्लाले पनि चार वटा निर्माण व्यवसायीसँगको सम्झौता तोडेको थियो । त्यसयता चुपचाप बसेका निर्माण व्यवसायीले काम सुरु गर्न थालेको बताइएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा। रत्नवीर सुनारले अस्पताल आसपासको सडक धुलाम्मे हुँदा बिरामीलाईसमेत सास्ती हुने गरेको बताउनुभयो ।

“अस्पतालमा बिरामी आउँछन्, बाहिर बस्ने अवस्था हुँदैन । तलतिर हावा लाग्दा पुरै धुलो अस्पतालभित्र पस्छ,” प्रमुख सुनारले भन्नुभयो ।